काठमाडौँ ।
शुक्रबार बिहानको साढे ४ बजिसकेको थियो । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट फर्किएका नेपाली विद्यार्थीमध्ये सबैभन्दा अन्तिममा सल्यानका प्रमाेद केसी त्रिभुवन विमानस्थलको अध्यागनबाट बाहिरिए ।
बिहीबार साँझ ६ बजेदेखि प्रमाेदलाई कुरिरहेका दिदी सरिता र बहिनी दीपा उनलाई देख्नेबित्तिकै अँगालो हाल्न पुगे । सरिता र दीपालाई प्रमाेदले पनि कसेर अँगालो हाले । र, उनले भने, ‘एकछिन है । मलाई गाह्रो भइरहेको छ ।’
उनी आफ्ना दिदी र बहिनीलाई अलि छेउतिर लिएर गए । केही बेर नबोली उभिए । सरिता र दीपा उनलाई एकटक हेरिरहेका थिए । नबोलेरै उनीहरू एक अर्कालाई महसुस गरिरहेका थिए, शायद ।
केही बेरको सन्नाटा चिर्न खोज्दै प्रमाेदले भने, ‘मेरा लागि भगवान् दाहिने भए, ‘म बाँचे … ।’ उनले बोल्दै गरेको वाक्य बीचमै टुङ्ग्याए । छेउमा उभिएकी दिदीले उनलाई सुमसुम्याइन् । उनी ‘नर्मल’ हुन खोज्दै थिए ।
आफूले बिताएको त्रासपूर्ण कथा सुनाउन खोजिरहेका थिए उनी । तर, उनले जे भोगे । जे देखे । त्यो सुनाउन सक्ने अवस्थामा थिएनन् ।
हुन त, २७ भदौमा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’अन्तर्गत ११ महिनाका लागि इन्टर्नका लागि इजरायल जाँदै गर्दा प्रमाेदलगायत उनका ४९ जना साथीलाई इजरायलमा हुनसक्ने हमलाका बारेमा सबै सिकाइएको थियो ।
Write your Comment