सिमरा ।
जीतपुर सिमराका प्रमुख प्रशसकिय अधिकृत उर्मिला काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत काफ्लेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरित गरेको सरुवाको निर्णय बदर र अन्तरिम आदेशको माग राख्दै दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायधिस अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
जीतपुर सिमराका प्रमुख प्रशासकिय अधिकृत काफ्लेले मंगलबार सर्वोच्चमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सोही मन्त्रालयका सचिव र शिक्षा सेवामा कार्यरत अधिकृत चेत कुमार पोखरेलका विरुद्ध रिट दायर गरेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनी बुधवार देखिनै जीतपुरसिमरा उपमहानगरपालिकामा हाजीर भएर काम शुरु गरेकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ गते जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई हटाई शिक्षा सेवा अन्तरगत कार्यरत चेत कुमार पोखरेललाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाउने निर्णय गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८१ साउन ३ गतेको निर्णय स्वेच्छाचारी एवं संबिधान, कानून एवं न्यायको मान्य सिद्धान्त समेतको बर्खिलाप रही आफूलाई साह्रै नै अन्याय परेको हुँदा न्याय प्राप्तिको लागि सम्मानित अदालतको ढोका घचघच्याउन पुगेको काफ्लेको भनाई छ । सर्वोच्चको निर्णयले उनलाई जीतपुर सिमरा उपमहानगरपालिकामा प्रमुख प्रशसकिय अधिकृतको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।
Write your Comment