निजगढका केरा उत्पादक किसानको आन्दोलन स्थगित

रातोघर

 २०८१ भाद्र २४, सोमबार  मा प्रकाशित
२४८ पाठक संख्या


निजगढः केरा बालीको बीमा सुचारु हुनुपर्ने माग राख्दै संघर्षमा उत्रने घोषणा गरेका निजगढका केरा उत्पादक किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि किसानले आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् ।

केरा बाली बीमा सुचारु हुनुपर्ने माग राख्दै किसानले आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका थिए । मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको बारा फलफूल तथा केरा उत्पादक व्यवसायी संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिए ।

यसअघि संघको नेतृत्वमा निजगढका किसानले जिल्ला प्रशासन कार्यालय निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र बाराका सहायक प्रमुख अधिकारी छविरमण भट्टराईलाई गत भदौ १५ गते ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमार्फत संघले केराबालीको बीमा कार्य सुचारु नभए भदौ २३ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

अघिल्लो वर्षहरुमा संघीय सरकारको सहयोगमा बीमा समितिमार्फत बीमा कम्पनीको ८० र किसानको २० प्रतिशत रकममा किसानको केरा बालीको बीमा हुँदै आएको थियो । सोही अनुसार बीमा गर्न बीमा कम्पनीहरु अनिच्छुक देखिएपछि किसान आन्दोलित बनेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा साना किसानको लागि मात्रै ८० प्रतिशत अनुदानमा केरा बालीको बीमा गर्ने उल्लेख गरेको छ । बीमा कम्पनीले बजेटमा उल्लेख भएअनुसार साना किसानको मापदण्ड स्पष्ट नभएसम्म बीमा गर्न नसक्ने जनाउँदै आएको थियो । मन्त्रालयले साना किसानको स्पष्ट मापदण्ड खुलाएर बीमा कम्पनीमा पत्र पठाउने तयारी गरेपछि निजगढका किसानले आन्दोलन स्थगित गरेका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban