सिधाकुराका सञ्चालक र कार्यकारी सम्पादक कारागार चलान

रातोघर

 २०८१ आश्विन १४, सोमबार  मा प्रकाशित
२२७ पाठक संख्या


सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना कारागार चलान भएका छन्। सर्वोच्च अदालतले तीन(तीन महिना कैद सजाय सुनाएपछि दुवै जना जगन्नाथदेवल कारागार चलान भएका हुन् । कारागार चलान भएपछि ढुंगानाले फेसबुकमा लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ।

प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्न आउनेछौँ। हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ विचलित हुने छैनौँ।’ सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ। कँडेल र ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको छ। यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्नेछ। सिधाकुरा डटकमले ५ हजार रूपैयाँ तिर्नुपर्ने गरी जरिवाना पनि तोकिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban