रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै

रातोघर

 २०८१ कार्तिक ४, आईतबार  मा प्रकाशित
३८२ पाठक संख्या


पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको छ । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक लामिछानेलाई कास्की प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालत पेश गर्न लागेको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले म्याद थपका लागि अदालत पेश गर्न लागेको हो । लामिछानेविरुद्ध प्रहरीले तीनवटा कसुरहरु सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर पुनः अनुसन्धान गर्ने तयारी गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि एक हुन् । सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको लामिछानेलाई आरोप लागेको हो ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई ९जीबी राई०, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीको निष्कर्ष छ ।

उक्त निष्कर्षको आधारमा प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो । सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोप लागेका राई फरार छन् भने सञ्चालक जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

यस्तै गोर्खा मिडियाका अर्का सञ्चालक रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद मागेको हो ।

Write your Comment