मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

रातोघर

 २०८१ कार्तिक ५, सोमबार  मा प्रकाशित
३१४ पाठक संख्या


महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् ।मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी पण्डित उपेन्द्र पाठकले बताए ।

मिथिलानीहरुले आइतबार दिनभर उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताए ।

यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घ आयुको कामना गर्ने चलन रहेको जलेश्वर–२ की व्रतालु रानी साहले बताइन् ।

यस पर्वमा मिथिलानीहरु राति रङ्गीचङ्गी नयाँ नयाँ बस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना ९जालीसहितको आँटा छान्ने वस्तु० मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमाको दर्शन गर्छन् ।

चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चाल्नामा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन र पूजा अर्चना गर्ने जलेश्वर–२ कै अर्का व्रतालु महिला रुना चौधरीले बताइन् ।

करबाचौथ पर्व मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको बिहार राज्यको मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban