माओवादी केन्द्रद्वारा कात्तिक १० मा जनप्रदर्शन र खबरदारी सभा आयोजना हुने

रातोघर

 २०८१ कार्तिक ६, मंगलबार  मा प्रकाशित
३२६ पाठक संख्या


नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमहरूको विरोध गर्न र आवश्यक कामतर्फ ध्यानाकर्षण गराउन माओवादी केन्द्रले काठमाडौको प्रदर्शनीमार्गमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको पेरिसडाँडास्थित कार्यालयमा वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज र अध्यक्षहरूको संयुक्त बैठकमा उक्त जानकारी दिएका हुन्।

दाहालका अनुसार, पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकारको विभिन्न कमजोरीहरूको विरोधमा जनप्रदर्शन र खबरदारी सभाको आयोजना गर्ने निर्णय गरेको छ।

अध्यक्ष दाहालले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका छन्। माओवादी केन्द्रले विशेष गरी विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनता लगायतका मुद्दाहरूलाई उठाउने बताएको छ।

बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनस्स्थापनामा देखिएका समस्याहरू समाधानका लागि माओवादीले यो कदम चालेको हो।

त्यसैगरी, माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सुरु भएको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेको षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिहरूको विरोध गर्दै सरकारलाई सचेत गराउने उद्देश्यले सभा आयोजना गर्ने जनाएको छ। जनप्रदर्शनका अन्य एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban