सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार आज बिहान अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको छ। यस दुर्घटनामा दुई जना बेपत्ता भएका छन् भने एक जनाले पौडी खेलेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्।
प्रहरीका अनुसार, कारमा सवार गौशाला नगरपालिका–१० का करिब ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर पोखरीमा डुबेको कारसहित बेपत्ता भएका छन्। कारमा सवार महोत्तरीको गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई खोज्न प्रयास गरेको भए पनि सफल नभएपछि थप सहायता मागिएको छ। घटनास्थलमा बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोलीलाई बोलाएर खोजी कार्य सुरु गर्ने तयारी गरिएको छ।
स्थानीयले जनाएअनुसार, अनियन्त्रित भएर सडक छेउको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा पुगेको कार दुर्घटनाग्रस्त भएको हो। अहिले पोखरीमा हराइरहेका दुई जनाको खोजी कार्य जारी छ।
Write your Comment