छठ पूजामा उल्लेखनीय रूपमा प्रदूषणमुक्त बनेको सिर्सिया नदी फेरि प्रदूषित

रातोघर

 २०८१ मंसिर ६, बिहिबार  मा प्रकाशित
१२३ पाठक संख्या


करिब चार दशकपछि छठ पूजामा उल्लेखनीय रूपमा प्रदूषणमुक्त बनेको सरिसवा (सिर्सिया) नदी फेरि प्रदूषित बन्न थालेको छ । नगरप्रमुख राजेशमान सिंहले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने उद्घोष गरे पनि कार्यकालको ३० महिना पुग्न लाग्दा पनि नदी पूर्ण रूपमा स्वच्छ हुन सकेको छैन ।

छठ पूजाको अवसरमा वीरगञ्ज महानगरको निरन्तर प्रयासपछि नदी लगभग ५० प्रतिशत प्रदूषणमुक्त भएको थियो । उद्योगहरूबाट प्रदूषित पानीको निकास रोक्न सफल महानगरको अभियानले चाडपर्वको समयमा नदी सफा बनाए पनि छठ पूजा सकिए लगत्तै बाराका जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका उद्योगहरूले पुनः प्रदूषित पानी नदीमा बगाउन थालेका छन् ।

महानगरपालिकाले गत कात्तिक १ गतेदेखि दैनिक रूपमा नदी प्रदूषण नियन्त्रणको अभियान सुरु गरेको थियो । छठ पूजासम्म उद्योगहरूले प्रदूषित पानी नबगाए पनि पूजा समाप्त भएसँगै कोहिनुर टेक्सटाइल्स, नारायणी रिफाइन, अमृत वनस्पति घ्यू, र विद्या आयलजस्ता उद्योगहरूले पानी प्रशोधन नगरी नदीमा विसर्जन गर्न थालेका छन् ।

महानगरको निरन्तर दबाबका बाबजुद यी उद्योगहरूले पानी प्रशोधन केन्द्र स्थापनामा चासो नदिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

छठपछि सिर्सिया नदीको बढ्दो प्रदूषण रोक्न वीरगञ्ज महानगरपालिकाले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीलाई स्थलगत भ्रमण गराएको थियो । दुवै जिल्लाका सिडिओहरूले उचित कारबाहीका लागि तथ्याङ्क र प्रतिवेदन उपलब्ध गराउन आग्रह गरेका छन् ।

नगरप्रमुख सिंहले उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा अनुगमन समिति बनाएर साप्ताहिक निरीक्षण सुरु गरेका थिए । उद्योगहरूलाई जरिवाना र दण्डित गर्नेसम्मका कदम चालिए पनि रातको समयमा उद्योगहरूले महानगरको आँखा छल्दै प्रदूषित पानी विसर्जन गरिरहेका छन् ।

महानगरपालिकाले उद्योगहरूलाई पानी प्रशोधन गरी मात्र नदीमा विसर्जन गर्न दबाब दिँदै आएको छ । तथापि, उद्योगहरूको लापरबाही र प्रभावकारी कार्यान्वयनको अभावले नदीको स्वच्छता दीर्घकालीन रूपमा कायम राख्न सकिएको छैन ।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन नगरप्रमुख सिंहको पहल सराहनीय भए पनि लक्ष्य हासिल गर्नका लागि थप प्रभावकारी नीति र ठोस कदम आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

Write your Comment