


नारायणी अस्पतालमा झन्डै पाँच करोड रुपैयाँ लागतमा आपूर्ति गरिएको क्याथ ल्याब (कैथेटराइजेसन ल्याब) मेसिन जडान हुन नसक्दा वीरगञ्ज र आसपासका बिरामीले समयमै उपचार पाउन सकेका छैनन् ।
मुटु सम्बन्धी शल्यक्रिया र विशेष परीक्षणका लागि प्रयोग गरिने उक्त उपकरण २०७६ सालमै अस्पतालमा ल्याइएको थियो । तर, भवन अभाव देखाउँदै अस्पतालले हालसम्म यो उपकरण सञ्चालनमा ल्याउन सकेको छैन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासका अनुसार क्याथ ल्याब जडानका लागि भवन निर्माण सघन सहरी तथा भवन निर्माण कार्यालयले २०७८ सालदेखि सुरु गरेको थियो । ‘‘कार्यालयले पुस महिनाभित्रै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । भवन तयार भएसँगै उपकरण जडानको प्रक्रिया सुरु गरिनेछ,’’ मेसु दासले भने ।
यद्यपि, तीन वर्षदेखि भवन तयार नहुनुमा निर्माण पक्षको सुस्तता र अस्पताल प्रशासनको कमजोरीलाई दोष दिइएको छ । ‘‘अस्पताल प्रशासनले योजनाबद्ध रूपमा क्याथ ल्याब सञ्चालन गर्न सक्रियता देखाएको भए यो समस्या समाधान भइसक्ने थियो,’’ एक स्थानीय स्वास्थ्यकर्मीले टिप्पणी गरे ।
क्याथ ल्याब जडानमा ढिलाइ हुनुका पछाडि अस्पताल प्रशासन र निजी अस्पतालहरूको मिलेमतो रहेको आरोपसमेत लाग्दै आएको छ । ‘‘महँगो उपचार गराउन निजी अस्पताल पठाउनकै लागि उपकरणलाई थन्क्याइएको हो,’’ मुटु सम्बन्धी उपचार गराउन अस्पताल पुगेका एक बिरामीले भने, ‘‘जनताको उपचार सुविधाबाट वञ्चित हुनु भनेको अस्पताल प्रशासनको गैह्र जिम्मेवारी पनको पराकाष्ठा हो ।’’
क्याथ ल्याब नहुँदा मुटुका जटिल बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतका अस्पतालमा जानुपर्ने बाध्यता छ । यसले बिरामी र तिनका परिवारलाई आर्थिक र मानसिक तनाव थपेको छ । सर्लाहीका ६५ वर्षीय रामेश्वर ठाकुर, जसलाई हालै एन्जियोप्लास्टी गराउन काठमाडौँ जानु परेको थियो, भन्छन्, ‘‘यहाँ अस्पतालमा उपचार पाउने आशा गरेर आइयो । तर, काठमाडौँ गएर उपचार गर्दा २ लाखभन्दा बढी खर्च भयो । यदि यो मेसिन चलिरहेको भए यस्तो समस्या हुँदैनथ्यो ।’’
क्याथ ल्याब सञ्चालनमा आएसँगै मुटुको शल्यक्रिया, एन्जियोग्राफी र एन्जियोप्लास्टीजस्ता महत्त्वपूर्ण सेवाहरू वीरगञ्जमै उपलब्ध हुनेछन् । यसले पर्सा, बारा, रौतहट लगायतका जिल्लाका बिरामीलाई राहत दिनेछ । तर, हाल यो उपकरण अस्पतालको कोठामा थन्किएको छ ।
क्याथ ल्याब सञ्चालनका लागि अस्पताल प्रशासन, निर्माण पक्ष र स्वास्थ्य मन्त्रालयबिच समन्वय आवश्यक देखिन्छ । ‘‘उपकरण सञ्चालनमा आउनु हाम्रो क्षेत्रका जनताका लागि ठूलो राहत हुनेछ,’’ स्थानीय युवा समाजसेवी शशिकान्त सर्राफले भने ।
जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नारायणी अस्पतालले शीघ्र पहल गर्नुपर्ने देखिएको छ । प्रशासनको निष्क्रियता र मिलेमतोको आशङ्काले जनताको विश्वास गुम्ने खतरा थपिएको छ ।





Write your Comment