टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका हङकङका स्टार ब्याटर र पूर्व कप्तान बाबर हायत नेपाली प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।
गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी र व्यवस्थापन टोली पुगेका थिए।
बाबर हायतलाई कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्धित गरेको छ। उनीसँगको सहकार्यले टोलीलाई बलियो बनाउने विश्वास व्यवस्थापनले व्यक्त गरेको छ ।
हायतले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइजी क्रिकेटमा प्रतिष्ठा कमाएका छन् । उनले ७९ टी-२० अन्तर्राष्ट्रिय खेलमा १९२७ रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र १० अर्ध शतक प्रहार गरेका छन्। उनको व्यक्तिगत उत्कृष्ट स्कोर १२२ रन रहेको छ ।
एक दिवसीय खेलमा पनि हायतले आफ्नो क्षमताको परिचय दिँदै २२ खेलमा ७८५ रन बनाएका छन्, जसमा आठ अर्ध शतक समावेश छन् । आक्रामक ब्याटिङ शैलीका लागि परिचित हायतको टी-२० क्रिकेटमा स्ट्राइक रेट १३२.७१ रहेको छ, जसले उनलाई खतरनाक खेलाडी बनाएको छ ।
हायतले कोवलून क्यान्टन्स, भ्यानकुभर नाइट्स, ब्र्याम्पटन वुल्भ्स, र फाल्कन हन्टर्स जस्ता फ्रेन्चाइजी टोलीहरूका लागि खेलेका छन् । विभिन्न टोलीसँगको अनुभवले कर्णाली याक्सलाई आगामी प्रतियोगितामा रणनीतिक रूपमा सहयोग गर्ने विश्वास लिइएको छ ।
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीले हायतको आगमनले टोलीमा थप आत्मविश्वास भरिने र खेल स्तर उकास्ने विश्वास व्यक्त गरेका छन् ।
मङ्सिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलमा कर्णाली याक्सका समर्थकहरू हायतको प्रदर्शन हेर्न उत्सुक छन् ।
Write your Comment