


सिमरा,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आ.व.२०८०/८१ को १ बर्षमा २९ करोड ६५ लाख भन्दाबढी खर्च गरेको पाईएको छ । उपमहानरपालिकाले १ बर्षमा बिबिध सहित खाना, खाजामा मात्र ४ करोड ४३ लाख भन्दाबढी खर्च गरेको तथ्य बाहिर आएको छ ।
शैक्षिक संस्था साहयता शिर्षकमा १८ करोड ३१ लाख भन्दाबढी अप्रत्यासित रुपमा खर्च गरेको देखिन्छ । उपमहानगरपालिकाले मसलन्द तथा कार्यालय सम्बन्धी खर्चमा २ करोड ३५ लाख भन्दाबढी खर्च गरेको छ । कार्यालय सञ्चालनमैं आउने इन्धन,खाना,खाजा,इन्टरनेट,बिजुली जस्ता धेरै शिर्षकमा छुट्टै खर्च गरेको पाईएको छ । जसले गर्दा सुशासन र पारदर्शिताको खिल्ली उडाएको छ ।
महालेखा परिक्षण प्रतिवेदनको तथ्याङ्क हेर्दा सबैभन्दा बढी अचम्म लाग्दो खर्च ‘विविध तथा खाना खाजा’ शीर्षकमा देखिन्छ, जहाँ ४ करोड ४३ लाखभन्दा बढी खर्च भएको छ । एउटा स्थानीय तहले एक वर्षमा खाजा र खानामा यति ठूलो रकम खर्च गर्नुको औचित्य माथि प्रश्न उठेको छ । त्यसैगरी, इन्धन, सवारी मर्मत, भ्रमण र कर्मचारी बैठक भत्ता जस्ता शीर्षकहरूमा मात्रै ३ करोड ५० लाख भन्दा बढी खर्च हुनुले प्रशासनिक खर्च अनियन्त्रित भएको स्पष्ट पार्छ ।
विकास निर्माणका लागि हुनुपर्ने अनुगमन तथा मूल्यांकनमा करिब ३८ लाख खर्च हुँदा सवारी मर्मतमैं १ करोड भन्दाबढी र इन्धनमा १ करोड ४२ लाख भन्दाबढी खर्च हुनुले उपमहानरपालिकामा ठुलो भ्रष्टचार भएको हुनसक्ने गन्ध आईरहेको बिद्धिजिवीहरुले तर्क गरेका छन् ।
उपमहानगरपालिका आफैंले सार्वजनिक गरेको महालेखा परिक्षण प्रतिवेदनको तथ्याङ्क अनुसार, उपमहानगरले मसलन्द, खाजा, इन्धन, भ्रमण र सवारी मर्मत जस्ता अनुत्पादक र प्रशासनिक शीर्षकहरूमा अस्वाभाविक रूपमा ठूलो रकम खर्च गरेको छ । यसले जनताले तिरेको करको सही सदुपयोग नभएको भन्दै नागरिक स्तरमा चासो र चिन्ता बढाएको देखिन्छ ।
सुशासन र पारदर्शिता माथि उठेको प्रश्नहरु:
यसरी अन्धाधुन्ध खर्चले उपमहानगरपालिकाको वित्तीय सुशासन कमजोर रहेको र पारदर्शिताको अभाव रहेको स्पष्ट संकेत गर्दछ । जनताको करको पैसालाई विकास निर्माण जस्ता परिणाममुखी काममा लगाउनुको सट्टा प्रशासनिक र सुविधाका क्षेत्रमा मनपरी ढंगले खर्च गर्ने प्रवृत्तिले स्थानीय सरकार प्रति जनताको विश्वास घटाउदैं लगेको छ ।
सरोकारवालाहरूले यस्ता फजुल खर्चको छानबिन गर्नुपर्ने र आगामी दिनमा वित्तीय अनुशासन कायम गर्न उपमहानगरपालिका लाई थप दबाब दिनुपर्ने देखिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा यस्ता अनुत्पादक खर्च कटौती गरी विकासका योजनामा लगानी बढाउन आवश्यक देखिन्छ ।
कहाँ कति खर्च ?
उपमहानगरपालिकाले आ.ब. २०८०/८१ मा गरेका प्रमुख खर्चहरू यस्तो छ ।
विविध तथा खाना खाजा खर्चः रु. ४,४३,७९,८६७/–
मसलन्द तथा कार्यालय सम्बन्धी खर्चः रु. २,३५,०९,५१८/–
इन्धन खर्चः रु. १,४२,१५,३२१/–
सवारी साधन मर्मत खर्चः रु. १,०१,६५,२८८/–
भ्रमण खर्चः रु. ४०,६४,२९०/–
कर्मचारी बैठक भत्ताः रु. २७,१५,८०५/–
अनुगमन तथा मूल्यांकनः रु. ३७,७८,२६९/–
शैक्षिक संस्था सहायता १८,३१,३९,२९२/–
संघ संस्था सहायता ८५,४८,५००/–
सेवा तथा परामर्श २००७२९६/–
जम्मा रु. २९,६५,२३,४४६/–





Write your Comment