


अमलेखगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलबार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्र बहादुर भोलनको शव बुधबार बिहान क्षतविक्षत फेला परेको हो ।
भोलनको शव जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन क्षेत्रको रातोमाटे अठेर खोल्चाको जंगलमा बुधबार बिहान करिब ७ः३० बजे फेला परेको थियो । स्थानीय युवाहरूले खोजी गर्ने क्रममा बाघले शरीरका विभिन्न अंगहरु खाएर क्षतविक्षत पारेको अवस्थामा शव फेला परेको थियो ।
भोलन मंगलबार दिउँसो ४ बजे बाख्रा चराउन भनि घरबाट जंगल गएका थिए । साँझसम्म पनि उनी र बाख्रा घर नफर्किएपछि परिवार र स्थानीयले राति ११ बजेसम्म खोजी गरेका थिए, तर फेला पार्न सकेनन् ।
घटनास्थलमा बाघको ठूलो पञ्जाको डोबहरू पनि देखिएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयहरू घटनास्थल पुगेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिदिभिनाजुको घरमा बस्दै आएका भोलन अविवाहित थिए ।





Write your Comment