जीतपुरसिमरा गोल्डकपको पारदर्शिता र मितब्ययिता माथी महालेखाको औंला

रातोघर

 २०८२ अषाढ ८, आईतबार  मा प्रकाशित
४७१ पाठक संख्या


सिमरा । २ हजार ८ सय ८० रुपैंया घाटामा सञ्चालित १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आय–ब्ययको पार्दशिता माथी महालेखाले औंला उठाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको लाखौं रकम अनुदानमा आयोजक नव जनजागृती युवा क्लबले करोडको आयव्यय देखाए पनि आ.व.२०८०/०८१ को महालेखा परीक्षण प्रतिवेदनले पारदर्शिता र मितब्ययिता नदेखिएको भनि औंलाएको हो ।

महालेखा परिक्षणको प्रतिवेदनमा भनिएको छ प्रतियोगिता आयोजक नव जनजागृती युवा क्लबले करोडौंको आयव्यय देखाए पनि लेखापरीक्षण प्रतिवेदन पेश नगरेको र सार्वजनिक चासोको विषयमा आम्दानी र खर्चको विवरणलाई सार्वजनिक नगरिनु गम्भिर त्रुटि भएकोले आय–ब्यय सार्वजनिक गरि प्रमाण पेश गर्न समेत सुझाव दिएको छ ।

सार्वजनिक भएको महालेखा परिक्षणको प्रतिवेदन र क्लबको लेखापरिक्षण प्रतिवेदन समेत बाझिएको छ । महालेखाको प्रतिवेदनले १४ औं जीतपुरसिमरा गोल्डकपको लागि उपमहानगरले दिएको अनुदान रकम भ्याट सहितको ५४ लाख ४६ हजार र प्रायोजक,सह प्रायोजक,संघसंस्था, ब्यक्तिहरुले दिएको रकम ४९ लाख ३३ हजार ८ सय सहित कुल आम्दानी १ करोड ३ लाख ७९ हजार ८ सय देखाएको छ ।

उक्त प्रतिवेदनले कुल खर्च रु. ७५ लाख ५ हजार ६ सय ९९ रुपैंया भएकोमा २८ लाख ७४ हजार १ सय १ रुपैंया नाफा भई उक्त रकम क्लबको खातामा बचत रहेको भनि देखाएको छ । यत्ता क्लबको आफ्नो लेखा परिक्षणको प्रतिवेदनले भने १४ औं जीतपुरसिरा गोल्डकप घाटामा सञ्चालन गरिएको देखाएको छ ।

७४ लाख ६५ हजार ८ सय ४९ रुपैंया आम्दानी भएको र खर्च तर्फ ७४ लाख ६८ हजार ७ सय २९ रुपैंया देखाएको छ । यो हेर्दा १४ औं जीतपुरसिमरा गोल्डकप सञ्चालन गर्दा क्लबले २ हजार ८ सय ८० रुपैंया घाटा ब्यहोर्नु परेको छ ।विगत ६ महिनादेखि प्रतिवेदन गलत भएकोले सच्याउन उपमहानगरपालिकाको कार्यालयमा धाई पटक पटक आग्रह गरेको क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।

महालेखा परिक्षणको प्रतिवेदन र क्लबको लेखा परिक्षण प्रतिवेदनमा आम्दानी खर्च फरक फरक देखिपछि जीतपुरसिमरा उपमहानगरपालिकाका लेखा शाखाका प्रमुख लेखा अधिकृत रन्जित पौडेललाई किन यस्तो आयो यसमा गलत को हो भनि प्रश्न गर्दा आफुहरुले महालेखाको प्रतिवेदनलाई सही मान्नु पर्ने बताए ।

यत्ता लेखा परिक्षक सरोज भट्टले भने उपमहानगरपालिकालाई दिएको प्रारम्भिक प्रतिवेदनमा उठ्न बाँकी रकम सहितको प्रतिवेदन दिएको र उक्त रकम नउठेपछि प्रतियोगिता घाटामा गएको र महालेखा प्रतिवेदन सँग प्रतिवेदन बाझिएर नमिलेको बताएका छन् ।

Write your Comment