धरानमा निर्माणाधीन प्रहरी चौकीको काम मेयर साम्पाङको आदेशमा रोकियो

रातोघर

 २०८२ अषाढ ९, सोमबार  मा प्रकाशित
२६१ पाठक संख्या


धरान उपमहानगरपालिका–१६ मा निर्माण भइरहेको प्रहरी चौकीको काम मेयर हर्कराज साम्पाङको आदेशपछि रोकिएको छ। मेयर साम्पाङले कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखी चौकी निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएका हुन्।

पछिल्लो समय धरानका विभिन्न वडामा प्रहरीका लागि भवनहरू निर्माण भइरहेका छन्। धरान–१६ मा बहुभाषिक पाठशालासँगै बन्न लागेको चौकी भवनको काम प्रदेश सरकारको बजेटमा भइरहेको थियो। तर अहिले उक्त काम रोकिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए।

एसपी तिम्सिनाले भने, धरानमा प्रहरी चौकी आवश्यक भएकाले स्थानीय तह र वडा कार्यालयकै पहलमा भवनहरू बन्ने गरेका हुन्। धरान–१६ मा पनि भवन निर्माण भइरहेको थियो, तर अहिले मेयर साहबको आदेशमा रोकिएको छ। उनले प्रहरी चौकी भवन निर्माणमा प्रत्यक्ष संलग्नता नभएको भन्दै यो विषय प्रहरीसँग सम्बन्धित नरहेको स्पष्ट पारे।

चौकी भवन निर्माणको जिम्मा पाएका व्यवसायी योगेश खतिवडाले पनि मेयरको आदेशका कारण काम रोकिएको पुष्टि गरे।

मेयर साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयलाई लेखेको पत्रमा, (DPR) नहेरी, डिजाइनबारे नगरपालिकासँग छलफल नगरी र उपयुक्त स्थान नखोजी निर्माण नगर्न अनुरोध गरिएको छ। साथै पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्डभित्र प्रहरी चौकी निर्माण भएमा पाठशालाको उद्देश्यमा असर पर्ने उल्लेख गरिएको छ।

Write your Comment