


बारा — महालेखाले सार्वजनिक गरेको आ.व. २०८०/0८१को प्रतिवेदनले जीतपुरसिमरा उपमहानगरपालिकामा बेरुजुको अवस्था झनै जटिल बनेको देखाएको छ। देशभरका ११ उपमहानगरपालिकामध्ये जीतपुरसिमरा ९० करोड ३२ लाख रुपैयाँ बेरुजुसहित चौथो स्थानमा परेको छ।
गत आर्थिक वर्षमा जीतपुरसिमराको बेरुजु ६७ करोड ६३ लाख रुपैयाँ थियो। तर यस वर्ष थप २२ करोड ५९ लाख रुपैयाँ बेरुजु बढेको छ। प्रत्येक वर्ष बेरुजु घट्नुको साटो बढ्दै जानु वित्तीय पारदर्शिता र सुशासनमा गम्भीर प्रश्न उठाउने अवस्था देखिएको विज्ञहरूको टिप्पणी छ। चालु आ.व. २०८१/८२ समेतको बेरुजु जोडिँदा जीतपुरसिमराको बेरुजु रकम १ अर्ब नाघ्ने प्रक्षेपण गरिएको छ।
यता बुटवल उपमहानगरपालिका भने राम्रो उदाहरण बनेको छ, जहाँ हालसम्म जम्मा ३ लाख ३८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ। इटहरी उपमहानगरपालिका भने १ अर्ब २६ करोड रुपैयाँ बेरुजुसहित सबैभन्दा अगाडि रहेको छ।
वित्तीय अनुशासन र पारदर्शिता कायम राख्न उपमहानगरहरूलाई थप जिम्मेवार र सचेत बन्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।





Write your Comment