


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको इजरायल–इरान युद्धविरामप्रति शंका व्यक्त गर्दै इरानले इजरायलमाथि ताजा मिसाइल आक्रमणहरू गरेको छ। इरानबाट प्रक्षेपित मिसाइलहरूले इजरायलको दक्षिणी सहर बेयरशेवामा प्रहार गर्दा कम्तीमा ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ‘१२ दिनको युद्ध’ अन्त्य भएको घोषणा गर्दै चरणबद्ध रूपमा युद्धविराम लागू हुने दाबी गरेका थिए। तर इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलसँग युद्धविराममा कुनै औपचारिक सहमति नभएको बताउँदै इजरायलले आफ्नो गैरकानुनी आक्रमण रोके मात्र तेहरानले कारबाही रोक्ने बताएका छन्। उनका अनुसार इजरायलले आक्रमण बिहान ४ बजेसम्म (००:३० जीएमटी) रोकेमा मात्रै इरानी आक्रमण स्थगित हुनेछ। यता, इरानी सरकारी टेलिभिजनले भने युद्धविराम कार्यान्वयनमा आइसकेको दाबी गरेको छ।
इजरायलले भने यसबारे अहिलेसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन। मंगलबार बिहान इरानबाट मिसाइल प्रक्षेपणको सूचना पाएपछि इजरायली सरकारले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा लुक्न अपिल गरेको छ।
यसअघि केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको थियो। इरानले अमेरिकी आक्रमणको बदलामा उक्त कारबाही गरेको बताइएको छ।
इरानी अधिकारीहरूका अनुसार जुन १३ देखि सुरु भएको इजरायली आक्रमणमा १३ बालबालिकासहित ४०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ३ हजार ५६ जना घाइते भएका छन्। इजरायलमा इरानी आक्रमणका कारण कम्तीमा २४ जनाको मृत्यु भएको जनाइएको छ।





Write your Comment