


विराटनगर — विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको १६औं नगरसभामा उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गर्दै उक्त बजेट समृद्ध महानगर बनाउने अभियानमा सहयोगी हुने दाबी गरिन्।
उनका अनुसार बजेट राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको व्यापक छलफल र सहमतिमा तयार गरिएको हो। प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ।
राजस्व र अनुदान स्रोत
महानगरले बजेटका लागि समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड रुपैयाँ, नगद मौज्दातबाट १४ करोड रुपैयाँ, सङ्घीय सरकारको सशर्त र समपूरक अनुदानबाट ८३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ। यस्तै, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खर्च विनियोजन
महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋण सावा र व्याज भुक्तानीका लागि ५ करोड, चालु आवका भुक्तानी दिन बाँकी योजनाका लागि ८ करोड विनियोजन गरेको छ।
भौतिक पूर्वाधारतर्फ समपूरक योजनाहरूमा ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना र दायित्व सारेका योजनामा ७० करोड छुट्याइएको छ। सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीय कार्यक्रममा २ करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ।
सडक बोर्डबाट सञ्चालन हुने योजनामा १ करोड ५० लाख र नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार छुट्याउँदै पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।





Write your Comment