वीरगञ्जमा डुबानको खतरास् मुख्य नाला अझै अतिक्रमणमुक्त हुन सकेन

रातोघर

 २०८२ अषाढ १०, मंगलबार  मा प्रकाशित
२६१ पाठक संख्या


वीरगञ्ज, पर्सा। वर्षायाम सुरु भएसँगै वीरगञ्जमा डुबानको खतरा बढेको छ। सहरका मुख्य नालाहरू अझै अतिक्रमणमुक्त हुन नसक्दा हरेक वर्षजस्तै यसपालि पनि सहर जलमग्न हुने चिन्ता स्थानीयवासीमा देखिएको छ। विशेषगरी आदर्शनगर ग्रीनसिटी प्रहरी बिटदेखि हरि खेतान बहुमुखी क्याम्पसको मूल गेटसम्म फैलिएको पुरानो नाला अतिक्रमणमुक्त हुन नसक्दा पानीको बहाव सहज हुन सकेको छैन।

नाला सफाइ र अतिक्रमण नहट्दा वीरगञ्जको प्रमुख सहरी क्षेत्र नियमित रूपमा डुबानमा पर्ने गरेको छ। यद्यपि गत वर्ष गीता मन्दिरदेखि प्रहरी बिटसम्मको नाला महानगरपालिकाको टोलीले सफा गरिसकेको थियो। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको पछाडि पनि सरसफाइ भइसकेको छ। तर, केडिया र खेतान परिवारको पर्खाल र हरि खेतान बहुमुखी क्याम्पसले पुरानो नाला थुनिरहेको महानगरको भनाइ छ।

महानगरका अनुसार नापजाँच सम्पन्न भइसकेको भए पनि अतिक्रमण हटाउन अझै केही समय लाग्नेछ। प्राविधिक टोलीले कुनै हालतमा पनि नालाको बहाव खुला गराउने अडान लिएको जनाएको छ।

यसबीच, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले एक साताभित्र नाला अतिक्रमणमुक्त गरी सरसफाइ कार्य सम्पन्न गरिने बताएका छन्। उनले हुलाक कार्यालयदेखि रेलवे मावि, जिल्ला प्रशासन कार्यालय, गीता मन्दिर हुँदै सरिसवा नदीसम्मको नालाको बहाव खुला गरिने प्रतिबद्धता जनाए। खेतान र केडिया परिवारले आफ्नै खर्चमा पर्खाल मर्मत गरी सार्वजनिक जग्गा खाली गर्न सहमति जनाएका छन्।

स्थानीयवासीले समयमै समस्या समाधान नभए डुबानका कारण जनधनको क्षति हुन सक्ने भन्दै महानगरसँग तदारुकता देखाउन आग्रह गरेका छन्।

Write your Comment