फोहोरको समस्या ज्यूँका त्यूँ, प्रशोधन केन्द्र बारे बुझाउन नसक्दा सधैं विवादमा

रातोघर

 २०८२ अषाढ ११, बुधबार  मा प्रकाशित
३५८ पाठक संख्या


बारा, जीतपुरसिमरा । वर्षौँदेखि फोहोर व्यवस्थापनको समस्याले सताइरहेको जीतपुरसिमरा उपमहानगरपालिकामा अहिले फोहोर प्रशोधन केन्द्र निर्माणको प्रयासले पुनः चर्चा र विवाद निम्त्याएको छ । उपमहानगरपालिकाले नगरको फोहोर समस्या समाधानको न्युनिकरणको लागि फोहोर प्रशोधन केन्द्र बनाउने तयारी गरिरहँदा स्थान चयनको विषयमा स्थानीयवासीले आपत्ति जनाउँदै आएका छन् ।

उपमहानगरमा फोहोरको उचित व्यवस्थापन अभावमा समय समयमा असन्तुष्टि चुलिँदै आएको छ । कहिले सामाजिक सञ्जाल मार्फत आलोचना हुने, त कहिले जनप्रतिनिधिले नंै फोहोर बोकेर उपमहानगर कार्यालयको गेटमा खसालेर विरोध जनाउने दृश्य देखिँदै आएको विगतका घटनाहरु छन् । व्यवस्थापकीय परिवर्तनसँगै जनप्रतिनिधि फेरिए पनि समस्या भने जस्ताको तस्तै रहेको छ ।

फोहोरको व्यवस्थापन गर्न उपमहानगर असफल भएको भन्दै जनताबाट आरोप लाग्दै आए पनि जनताकै तर्फबाट पनि गैरजिम्मेवारीपन देखिएको छ । जथाभावी रूपमा प्रयोग भइसकेका बोतल, प्लास्टिक र अन्य फोहोर नालामा फालेर नागरिक आफैंले समस्या निम्त्याइरहेका छन् । यस्तो अवस्थामा दोष एकतर्फी रूपमा नगरप्रशासनलाई मात्र लगाउनु कति न्यायसंगत हो भन्ने प्रश्न उठिरहेको छ । सधैं विवाद गरेर काम रोक्ने भन्दापनि यसको समाधानको उपायको लागी नागरिक समाज आफैं अग्रसर हुनु पर्ने विज्ञहरुको भनाई छ ।

पछिल्लो समय जीतपुरसिमरा वडा नं. ५ सँग सिमाना जोडिएको वडा नं. ४ मा फोहोर प्रशोधन केन्द्र राख्ने प्रयास गरिए पनि स्थानियको कडा विरोधपछि सो स्थान परिवर्तन गरी वडा नं. ४ कै अर्को क्षेत्रमा केन्द्र निर्माण गर्ने प्रयास भइरहेको बुझिएको छ। यद्यपि उपमहानगरपालिकाले यसबारे सार्वजनिक रूपमा स्पष्ट धारणा दिएको छैन।

फोहोर प्रशोधन केन्द्र भनेको थम्पिङ साइड नभई पुनः प्रयोगयोग्य फोहोरबाट फोहोर लाई मोहोरमा परिणत हुनेगरी उत्पादन गर्ने प्रविधि भएको जनाइएको छ । यसले जैविक फोहोरको उपयोग गर्दै वातावरणमैत्री उपाय अपनाउने र दीर्घकालीन रूपमा फोहोरको समस्या समाधान टेवा दिन सक्ने दाबी गरिएको छ।

उपमहानगरका मेयर राजन पौडेल र वडा नं. ४ का वडाध्यक्ष भोज बहादुर खत्री (ईश्वर) का अनुसार, बन्न लागेको केन्द्रबाट वातावरणमा कुनै प्रकारको प्रदूषण नहुने र उल्टो रोजगारीको अवसर सिर्जना हुनेछन्। उनीहरूले यो केन्द्र फोहोर थम्पिङ साइट नभई पूर्णतया प्रशोधन केन्द्र भएको स्पष्ट पार्दै आएका छन् । चितवनको खैरेनी नगरपालिकामा सञ्चालित फोहोर प्रसोधन केन्द्रकैं डिजाईन र नमुना अनुसारकैं यहाँ बन्ने भन्दै आफ्नो प्रतिक्रियाहरु सामाजिक सञ्जालहरुमा भन्ने देखाउने गर्दै आई रहेका छन् ।

यस्तो योजना अघि बढाउनुपूर्व जनतामा आवश्यक जानकारी नदिंदा विवाद बढ्ने सम्भावना उच्च हुन्छ। फोहोर प्रशोधन केन्द्रले कस्तो तरिकाले काम गर्छ, यसले पार्न सक्ने प्रभावहरू के हुन् र यसबाट स्थानीयले के–के लाभ लिन सक्छन् भन्ने विषयमा जनतामा जानकारी पु¥याउनु अपरिहार्य देखिन्छ। स्थानीय तहले यसबारे खुला संवाद र छलफल गर्दै जनविश्वास कायम गर्न सके मात्र योजना सफल हुने अपेक्षा गरिएको छ।

हिजो जनताको माझमा बसेर काम गर्छु भनेर बाचा गरेर आएका जनप्रतिनिधीहरु आज जनताको माझबाट दिन प्रतिदिन टाढा हुदैं गई रहेको देखिन्छ । यसले किन जनप्रतिनिधीहरु जनता सँग टाढा हुन्छ भन्ने प्रश्न समेत सिर्जना गरेको छ । फोहोर व्यवस्थापनका नाममा गरिएको असफल प्रयास र दोहोरिएको विवादका सन्दर्भमा यो योजना लागू गर्नु चुनौतीपूर्ण देखिए पनि उपमहानगरको स्पष्ट कार्ययोजना, पारदर्शिता र जनसहभागिता भएमा दीर्घकालीन समाधानको बाटो खोलिन सक्ने विश्लेषण गरिँदैछ ।

Write your Comment