चन्द्रपुरमा सेप्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रातोघर

 २०८२ अषाढ ११, बुधबार  मा प्रकाशित
४२६ पाठक संख्या


रौतहट, मुकेश कुमार साह । रौतहटको चन्द्रपुर नगरपालिका–१०, बिनुवा टोलमा ट्वाइलेटको सेप्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार साँझ करिब साढे ७ बजेको समयमा सो टोलमा रहेका दुई वर्षे बालक रञ्जे साह र दुई वर्षीया बालिका खुश्बु साह खेल्ने क्रममा घर नजिकै रहेको ट्वाइलेटको सेप्टी ट्याङ्कीमा खसेर गम्भीर घाइते भएका थिए ।

तत्कालै स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरी चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले जाँच गर्दा दुवैलाई साँझ साढे ८  बजे मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पले जनाएको छ । दुर्घटना हृदय पासवानको घर अगाडिको ट्वाइलेट ट्याङ्कीमा भएको हो । सो ट्याङ्कीको मुख प्लाइले अस्थायी रूपमा ढाकिएको अवस्थामा थियो । मृतक रञ्जे साह गमिरा साहका छोरा हुन् भने खुश्बु साह जगदीश साहकी छोरी हुन् ।

घटनापछि सो  गाउँमा शोकको वातावरण छ । घटनास्थलमा प्रहरी चौकी चेतनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको र प्रारम्भिक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Write your Comment