


काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका तीन जना उम्मेदवारविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन्। समितिका सभापति ईश्वरी न्यौपानेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बसेको समितिको बैठकमा उक्त जानकारी दिइन्।सभापति न्यौपानेका अनुसार परेका ७ उजुरीमध्ये ५ वटा उजुरी व्यक्तिकेन्द्रित छन् भने बाँकी २ उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन्। यद्यपि, समितिको बैठकमा सभापति न्यौपानेले उजुरी कसका विरुद्ध परेका हुन् र ती उजुरीमा के विषय उठाइएको हो भन्ने खुलाउन चाहिनन्।
बैठकले उजुरी दर्ता भएकाले उजुरीकर्तालाई समितिको अर्को बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ। सो निर्णयअनुसार उजुरीकर्ताहरूलाई आगामी शुक्रबार बिहान ११स्३० बजे बस्ने बैठकमा बोलाइनेछ। त्यस्तै, समितिले यही असार १५ गते आइतबार प्रस्तावित न्यायाधीशहरूसँग संसदीय सुनुवाइ गर्ने निर्णय समेत गरेको छ। उक्त सुनुवाइका लागि मध्यान्ह १२स्१५ बजे बैठक डाकिएको छ।
स्मरणीय छ, न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको सिफारिस गरेको थियो। ती सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।सुनुवाइ समितिको आगामी बैठकमा उजुरीकर्ताहरूका गुनासा र तर्कहरू सुनेर प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ। समितिको निर्णय र सुनुवाइको प्रक्रिया पारदर्शिता र निष्पक्षताको दृष्टिले महत्त्वपूर्ण रहनेछ।





Write your Comment