

बाराको सिमरा– बन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा बुधबार सिमरामा आयोजित बन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पछिल्ला दिनमा तीव्र रूपमा देखापरेका मानव र बन्यजन्तुबीचको द्वन्द्वका कारणहरू र तिनको समाधान खोज्ने उपायहरूबारे गहन छलफल गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले बन्यजन्तुको संरक्षण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, समुदाय, सरकारी निकाय, सरोकारवाला संस्था तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूले संरक्षणका पहलहरूलाई व्यवहारमै कार्यान्वयन गर्न बलियो संयन्त्र निर्माण आवश्यक रहेकोमा पनि जोड दिए।
कार्यक्रमको उद्देश्य प्रदेशभित्र रहेका वन तथा वन्यजन्तुको दिगो संरक्षण र व्यवस्थापनका लागि सरोकारवालाबीच साझा बुझाइ विकास गर्नु रहेको आयोजकले जानकारी दिएको छ। त्यसैअनुसार कार्यक्रमले वन्यजन्तुको बासस्थान संरक्षण, उनीहरूको चलनचल्ती, चालढाल तथा मानव वस्तीहरूसँगको अन्तरक्रियालाई सम्बोधन गर्ने विषयमा जानकारीमूलक र व्यावहारिक छलफलको वातावरण निर्माण गरेको थियो।कार्यक्रममा बन तथा वन्यजन्तु संरक्षणसम्बन्धी वर्तमान ऐन, नियम, कानुन र कार्यन्वयनका प्रावधानबारे पनि विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। वन्यजन्तुको बासस्थानको सुरक्षा, तिनीहरूको चालढाल ट्र्याकिङ, द्वन्द्व न्यूनीकरणका उपायलगायतका विविध पक्षमा सहभागीहरूबीच विचारविमर्श गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वन तथा वातावरण मन्त्रालयकी प्रशासन तथा योजना शाखा प्रमुख अञ्जना कायस्थले गर्नुभएको थियो। उहाँले बन तथा बन्यजन्तुको संरक्षणमा नीतिगत र कानुनी पक्ष मात्र होइन, व्यवहारमै कार्यान्वयन हुने प्रणाली निर्माणमा जोड दिँदै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।कार्यक्रमका संयोजक भू–संरक्षण अधिकृत नवोनारायण मिश्रले विषयवस्तु प्रस्तुत गर्दै अन्तरक्रियात्मक ढंगमा छलफल सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बन अधिकृत संजय चौधरी ९डिभिजन वन कार्यालय० र जेडएसएल ९श्क्ी० का प्रतिनिधि प्रचण्ड महर्जनले संरक्षणसम्बन्धी प्रस्तुतीकरण दिएका थिए।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन व्यवस्थापनसँगै वन्यजन्तुको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले मानव–वन्यजन्तु द्वन्द्वका कारण कहिले मानिस, त कहिले जनावर ज्यान गुमाउनु परेको उल्लेख गर्दै डिभिजन बन कार्यालयहरूलाई दुवै पक्षको संरक्षणमा ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।कार्यक्रमबाट वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै साझा प्रतिवद्धता प्रकट भएको आयोजकको भनाइ छ। साथै, यस्ता कार्यक्रमले दीगो संरक्षण, सहकार्य र समन्वयको मार्गप्रशस्त गर्ने अपेक्षा राखिएको छ।





Write your Comment