वीरगञ्जमा ऐतिहासिक र भव्य रूपमा सम्पन्न भयो श्री गहवामाई रथ यात्रा, लाखौँ श्रद्धालुको सहभागिता

रातोघर

 २०८२ अषाढ १३, शुक्रबार  मा प्रकाशित
३४९ पाठक संख्या


वीरगञ्ज, असार १३ – मधेस प्रदेशको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको श्री गहवामाई रथ यात्रा आज शुक्रबार अत्यन्त भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यस तेस्रो रथ यात्रामा एक लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठन गरिएको रथ यात्रा धार्मिक समन्वय समितिको नेतृत्वमा सम्पन्न भएको यस भव्य धार्मिक यात्रा आज बिहान ८ बजे विशेष पूजापाठसहित मन्दिर परिसरबाट सुरु भई वीरगञ्ज नगरका विभिन्न भाग परिक्रमा गर्दै पुनः मन्दिरमै समापन गरिएको हो। यात्रा घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै मन्दिर फर्किएको थियो।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, वीरगञ्ज नगरसहित पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरू, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र राजधानी काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सीमावर्ती भारतीय सहरहरू – रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालुहरूले सहभागिता जनाएका थिए।

रथयात्रा मार्गभर स्थानीय नागरिकहरूले फूलमालासहित रथमाथि पुष्पवर्षा गर्दै श्रद्धालुहरूको स्वागत गरेका थिए। विभिन्न स्थानमा पानी, जुस, शरबत तथा अन्य सेवा सुविधा प्रदान गरिएको थियो। सहभागीहरूले भगवा तथा रातो रङ्गका धार्मिक पोशाकमा ुजय गहवामाईुको जयघोष गर्दै यात्रा सम्पन्न गरेका थिए।रथ यात्राको महत्त्व दिन प्रतिदिन बढ्दै गएको जनाउँदै समितिले यसलाई परम्परा मात्रै नभई प्रदेशकै एक भव्य धार्मिक पर्वको रूपमा स्थापना गर्न सफल भएको उल्लेख गरेको छ। यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा समेत घोषणा गरेको थियो।

महानगर प्रमुख राजेशमान सिंहले रथ यात्राले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न मद्दत गरेको उल्लेख गर्दै आगामी वर्षदेखि महानगरले रथ यात्राका लागि विशेष बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे।रथ यात्राको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बललगायतका निकायहरूले सयौँ सुरक्षाकर्मी परिचालन गरेका थिए। सुरक्षाका साथै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यहरू पनि सञ्चालन गरिएको समितिले जनाएको छ।

समितिका सचिव पप्पु गुप्ताले मधेस प्रदेशकै पहिलो धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्राको रूपमा गहवामाई रथ यात्रा स्थापित भएको दाबी गरे। भव्य धार्मिक अनुष्ठानअन्तर्गत छपन्न भोग, भजन(कीर्तन, महाप्रसाद र भन्डारा कार्यक्रमहरू समेत आयोजना गरिएको जानकारी उनले दिए।आज बेलुका ७ बजे छपन्न भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने भोलि शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डारा कार्यक्रम गरिने जनाइएको छ। यी कार्यक्रमहरूमा पनि लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।

समितिका अनुसार समग्र रथ यात्रा र महोत्सवको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ। रथ यात्रापछि सम्पूर्ण खर्च विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रतिबद्धता समितिले व्यक्त गरेको छ।धार्मिक पर्यटन प्रवर्द्धन, सनातनी परम्पराको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिको लक्ष्यसहित सम्पन्न भएको यो रथ यात्रा वीरगञ्जको इतिहासमा एक महत्त्वपूर्ण अध्यायका रूपमा स्थापित भएको आयोजक समितिको विश्वास छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban