वीरगञ्जमा २५ मिटर सडक विस्तार योजना पुनः सुरु, नगरप्रमुख सिंहको नेतृत्वमा डोजर सञ्चालन

रातोघर

 २०८२ अषाढ १६, सोमबार  मा प्रकाशित
३४० पाठक संख्या


वीरगञ्ज, पर्सा ।
वर्षौंदेखि कानुनी अन्योलका कारण स्थगित हुँदै आएको वीरगञ्जको बहुप्रतीक्षित २५ मिटर सडक विस्तार योजना अन्ततः सोमबारदेखि पुनः सक्रिय भएको छ। सर्वोच्च अदालतको आदेशपछि वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा मेनरोड क्षेत्रमा डोजर चलाएर सडक विस्तार कार्य पुनः सुरु गरेको हो।

विगतमा अदालती रोकका कारण स्थगित यो योजना सर्वोच्च अदालतले अनुमति दिएपछि फेरी अगाडि बढ्न सकेको हो। नगरप्रमुख सिंहका अनुसार, न्यायालयको आदेश पश्चात प्रभावित घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो। सूचना अवधि पूरा भएपछि सोमबारदेखि भन्सार क्षेत्रबाट अतिक्रमण हटाउने कार्य सुरु गरिएको हो।

नगरप्रमुख सिंहले भने, “सर्वोच्चको आदेशको पालना गर्दै हामीले आजदेखि २५ मिटर सडक विस्तारको काम सुरु गरेका छौं। यो अभियान अन्तर्गत मेनरोड हुँदै गण्डक चोकसम्मको क्षेत्रबाट अवैध संरचना हटाउने र सडक चौडा गर्ने हाम्रो लक्ष्य हो।”महानगरले यस अभियानलाई तीव्रता दिँदै अवैध संरचना हटाउने कार्य प्राथमिकताका साथ अघि बढाएको छ। यसले शहरको यातायात व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ। साथै, सडक विस्तारसँगै वीरगञ्जलाई व्यवस्थित, सुरक्षित र आधुनिक शहरको स्वरूप दिने योजनासमेत महानगरपालिकाले अघि सारेको छ।

यद्यपि केही स्थानीयवासीले अवज्ञा र असन्तुष्टि जनाए पनि धेरैजसो नागरिकले भने सडक विस्तारको कार्यप्रति समर्थन जनाएका छन्। उनीहरूका अनुसार, यो योजनाले शहरको भौतिक पूर्वाधार सुधारसँगै विकासको गन्तव्यमा वीरगञ्जलाई अगाडि बढाउने छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban