

पोखराको पर्यटकीय गन्तव्य पुम्दिकोटमा अब चाँडै केबलकार सञ्चालनमा आउने भएको छ। मुलुकका दुई प्रमुख व्यावसायिक घराना — चितवन कोइ ग्रुप र अग्नि ग्रुप — को संयुक्त लगानीमा ‘पुम्दिकोट महादेव केबलकार’ निर्माण हुने भएको हो।
एक अर्ब ६० करोड ४० लाख रुपैयाँको अनुमानित लागतमा बन्न लागेको यस परियोजनामा ८० प्रतिशत लगानी बैंक ऋणमार्फत र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी)मार्फत जुटाइनेछ। परियोजना विकासकर्ताको रूपमा ‘पुम्दिकोट महादेव केबलकार’ कम्पनी रहेको छ, जसले हाल पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
१.१ किलोमिटर लम्बाइको रहने केबलकारको लागत प्रतिकिलोमिटर एक अर्ब ४५ करोड रुपैयाँ पर्नेछ। माथिल्लो र तल्लो स्टेशनसहित सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्न करिब १.५ वर्ष लाग्ने अनुमान गरिएको छ। कम्पनीले सन् २०२६ को जुलाई महिनासम्म निर्माण सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
यद्यपि निर्माण अवधिमा कुनै अप्रत्याशित ढिलाइ वा लागत वृद्धिले ब्याज र मूल्यवृद्धिका कारण कम्पनीको वित्तीय स्थितिमा असर पर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ। परियोजना सम्पन्न भएपछि ऋण भुक्तानीमा झण्डै ११ वर्ष लाग्ने वित्तीय योजना बनाइएको छ।सन् २०२३ मा स्थापना भएको पुम्दिकोट महादेव केबलकार कम्पनीले पोखरा महानगरपालिका अन्तर्गतको पुम्दिकोट क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गर्दै केबलकार निर्माण गर्दैछ। अन्नपूर्ण हिमश्रृंखला र पोखरा सहरको अनुपम दृश्य देखिने यस स्थानमा पहाडको शिखरमा स्थापित विशाल महादेव मूर्तिले धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
परियोजना निर्माणमा चितवन कोइ ग्रुपका राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपका अर्जुनप्रसाद शर्माको नेतृत्व रहेको छ। उल्लेखनीय कुरा के छ भने चितवन कोइ ग्रुपले सन् १९९८ देखि नेपालकै पहिलो मनकामना केबलकार सञ्चालन गर्दै आएको छ। कम्पनीले हालसालै १ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको ऋण रेटिङ समेत गराएको छ।नेपालमा पछिल्लो समय रिसोर्टसहितका केबलकार परियोजनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन्। मनकामना, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी र कालिञ्चोकपछि पुम्दिकोट केबलकार पनि थप एक आकर्षक गन्तव्य बन्ने सम्भावना देखिएको छ।





Write your Comment