

धनगढी, कञ्चनपुर र कैलाली जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। धनगढी उपमहानगरपालिका अन्तर्गतका रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र जलमग्न भएका छन्। रातोपुल क्षेत्रमा पानी पस्दा दर्जनौं पसल प्रभावित भएका छन् भने व्यापारीहरू बिहानैदेखि सामान जोगाउन तल्लीन छन्।
घरघरमा पानी पस्दा स्थानीयहरू घरबाट निस्केर सडकमा आउन बाध्य भएका छन्। नालाको पानी बस्तीमा पस्दा जनजीवन थप कष्टकर बनेको छ। जलमग्न अवस्थाका कारण ऐश्वर्य विद्या निकेतनसहित केही विद्यालय बन्द गरिएका छन्।जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरको शान्तिपुरमा २६४.६ मिमि र कृष्णपुरमा १८४ मिमि वर्षा मापन भएको छ। महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायतका नदीको जलस्तर उल्लेखनीय रूपमा बढेको छ।
बाढीको उच्च जोखिम रहेको भन्दै विभाग र स्थानीय प्रशासनले तटीय तथा डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। हालसम्म मानवीय वा ठूलो भौतिक क्षतिको विवरण नआएको भए पनि सुरक्षाकर्मीहरू तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।मौसमविद्हरूले सुदूरपश्चिममा अझै केही घण्टा भारी वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।





Write your Comment