

सिमरा, बारा । महेन्द्रमाला खबरद्वारा टिकटक एवम् युट्युबमार्फत सार्वजनिक गरिएको होटल इच्छा लिमिटेड सम्बन्धी समाचारप्रति होटल व्यवस्थापनले गम्भीर आपत्ति जनाउँदै ध्यानकर्षण सहितको स्पष्टिकरण सार्वजनिक गरेको छ । होटलले सोमवार एक विज्ञप्ति जारी गर्दै पत्रकारले सरोकारवालासँग कुनै सम्पर्क नगरी, होटल व्यवस्थापनसँग आधिकारिक जानकारी समेत नलिई एकपक्षीय तथा अनुमानमा आधारित र काल्पनिक कथा जस्तो समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ती समाचार सामग्री तत्काल हटाउन माग गरेको छ ।
विज्ञप्तीमा उल्लेख गरे अनुसार डा. शम्भु चौधरी नामका ग्राहकले २०८१ फागुनमा होटलसँग २०८२ मंसिर अन्त्यतिर हुने एक विवाह समारोहका लागि बुकिङ्ग गरेका थिए । होटलका अनुसार, बुकिङ गर्दा ग्राहकले ५० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए र त्यसपछि १५ दिनभित्र बाँकी रकम भुक्तानी गर्ने सहमति गरिएको थियो । तर उक्त म्यादमा भुक्तानी नहुँदा पनि होटल व्यवस्थापनले साढे दुई महिना पर्खेर लचिलो व्यवहार देखाएको विज्ञप्तिमा उल्लेख छ ।
होटलका कार्यकारी अध्यक्षका अनुसार, अझै विवाह मिति ६ महिना बाँकी छ, तर त्यसअगावै बिना पुष्टि समाचार सार्वजनिक गर्नु पत्रकार आचारसंहिताको उल्लंघन भएको बताएका छन् । डा. चौधरीले होटल व्यवस्थापनसँग भेटेर कुरा गर्दा जंगली भाषा प्रयोग गर्नु, शारीरिक आक्रमण गर्ने चेतावनी दिनु, पक्राउ पुर्जी जारी गराउने धम्की दिनु, र बम विस्फोटसम्म गराउने धम्की दिएको र उक्त कुराहरुको आफु सँग सिसिटिभी फुटेज भएको दाबी होटल प्रशासनले गरेको छ ।
यसैबीच, होटल व्यवस्थापनले स्पष्ट पारेको छ कि ग्राहकसँग गरिएको सम्झौता कानुनी रुपमा लिखित रूपमै सुरक्षित गरिएको छ, जसमा सेवा र सर्तबारे स्पष्ट जानकारी दुवै पक्षलाई दिइएको थियो । “जीवनमा सम्भवतः एकपटक मात्र गरिने विवाह कार्यक्रम केटाकेटीको खेल होइन,“ विज्ञप्तिमा भनिएको छ, “त्यसैले होटलले हरेक ग्राहकलाई उचित प्रक्रिया र पारदर्शिता सहित सेवा दिने गरेको बताइएको छ ।“
यसबाहेक होटल व्यवस्थापनले यस्ता मनगढन्ते समाचारहरू सामाजिक सञ्जालमा फैलाएर होटलको प्रतिष्ठामा आँच पु¥याउने कार्यको कानुनी हिसाब–किताब गर्नुपर्ने अवस्था आएको भन्दै, ईलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रशासन कार्यालय बारा, र होटल एसोसिएसन नेपाललाई समेत जानकारी गराई ध्यानकर्षण गराएको छ ।
होटलले आम सर्वसाधारणसँग अपिल गर्दै भनिएको छ, “ कोही पनि भ्रममा नपर्नुहोस् भन्ने अनुरोध गर्दछौं, र हाम्रा सेवा तथा व्यवस्थापन पूर्ण पारदर्शी, उत्तरदायी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको होटलले दाबी गरेको छ । होटल इच्छा लिमिटेडले कानुनी दायराभित्र रही सत्य सूचना सम्प्रेषण गर्न मिडिया जगतलाई पनि आग्रह गरेको छ ।
यस बिषयमा सम्बन्धित सञ्चार माध्यम सँग थप कुरा बुझ्न खोज्दा मिडिया आफ्नो अनलाइन न्युज पोटलमा कुनै पनि सम्पर्क नम्बर नराखेकोले फेसबुक तथा गुगलमा खोजी गर्दा समेत सम्पर्क नम्बर फेला पार्न नसक्दा सिधा सम्पर्क हुन सकेन ।








Write your Comment