जीतपुरसिमराको १२ औं नगरसभाको दोस्रो बैंठक स्थगित,कार्यपालिका बैंठकनैं हुन सकेन

रातोघर

 २०८२ अषाढ १७, मंगलबार  मा प्रकाशित
२५५ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठक पनि स्थगित भएको छ । नगरपालिकाले असार १८ गतेका लागि निर्धारण गरिएको दोस्रो बैठक सञ्चालन नगर्ने निर्णय लिँदै अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गरिएको घोषणा गरेको हो। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले मंगलबार सूचना जारी गर्दै नगरसभा स्थगनको जानकारी दिएका हुन् ।

सूचना अनुसार नगरसभा सञ्चालन कार्यविधि, २०७५ को नियम ३ को उपनियम ९६(क) बमोजिम नगरसभाको दोस्रो बैठक स्थगित गरिएको उल्लेख गरिएको छ । यसअघि, असार ९ गतेका लागि बोलाइएको पहिलो बैठक पनि प्रारम्भ भएलगत्तै स्थगित गरिएको थियो । नगरसभामा प्रस्तुत गरिनुपर्ने नीति तथा कार्यक्रम, बजेट र सम्बन्धित विधेयकहरू कार्यपालिकाबाट स्वीकृत भएर नगरसभामा आउन नसकेका कारण पहिलो बैठक तत्कालै रोकिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार उपमहानगरको नगरसभा हरेक वर्ष असार मसान्तभित्र सञ्चालन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने व्यवस्था छ । नीति,कार्यक्रम तथा बजेट अनुमोदन नभएसम्म नयाँ आर्थिक वर्षका कुनै पनि योजना कार्यान्वयनमा ल्याउन कानुनीरूपमा समस्या आउने छ । विकासे योजना, सार्वजनिक सेवा, पूर्वाधार निर्माण लगायतका कार्यहरू समयमै अगाडि बढाउन नसकिने अवस्था आउँदा थप समस्या देखिन्छ ।

नगरसभाबीचको समन्वय अभाव, आन्तरिक राजनीतिक खिचातानी तथा योजना निर्माणमा ढिलासुस्तीका कारण यस्ता समस्या आइरहेको विश्लेषकहरू बताउँछन् । उपमहानगरको नियमित प्रशासनिक कार्यसमेत प्रभावित हुने जोखिम देखिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban