

ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको ऐतिहासिक सम्पदा हो। यो मन्दिर भक्तजनका लागि मात्र होइन, ललितपुरको सांस्कृतिक परिचयको प्रतीकको रूपमा समेत चिनिन्छ।
नेपालको परम्परागत प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिर प्रारम्भमा एक तले मात्र थियो। नेपाल संवत् ७४२ मा राजा सिद्धि नरसिंह मल्लको पालामा मन्दिर निर्माण गरिएको मानिन्छ। पछि नेपाल संवत् ८१७ मा राजा योगनरेन्द्र मल्लको पालामा दुई तला थपेर यो मन्दिरलाई तीन तले बनाइएको ऐतिहासिक शिलालेखहरूमा उल्लेख पाइन्छ।
बालकुमारी मन्दिरले समयसँगै अनेकन सांस्कृतिक परिवर्तनका चरण पार गरेको छ। मन्दिरमा हुने पूजाआजा, जात्रा र परम्परागत चाडपर्वहरूले यहाँको जीवित संस्कृति अझै पनि जगेरै राखेको देखिन्छ। मन्दिरको वरपरको क्षेत्र पनि परम्परागत नेवारी वास्तुकलाले सजिएको छ, जसले पर्यटक र इतिहासप्रेमीहरूलाई आकर्षित गर्छ।
धार्मिक आस्था र ऐतिहासिक सम्पदाको संगमको रूपमा रहेको बालकुमारी मन्दिरको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको स्थानीयवासी र सांस्कृतिक अभियन्ताहरूको धारणा छ। यस्ता सम्पदाले हाम्रो इतिहासलाई मात्रै होइन, पहिचानलाई पनि सजीव राख्ने कार्य गर्छन्।





Write your Comment