

वीरगञ्ज, पर्सा । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मंगलबार वीरगञ्जका विभिन्न स्थानहरूबाट छापा मार्दै प्रहरीले कुल २८ लाख २८ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्राप्त जानकारीअनुसार पहिलो पक्राउ वीरगञ्ज महानगरपालिका–१० मकालु चोकबाट भएको हो, जहाँ पर्सा पकहाँमैनपुर गाउँपालिका–२ निवासी २६ वर्षीय अनिल कुमार बर्णवाललाई ९ लाख ४७ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको छ।त्यस्तै, कृषि विकास बैंक वीरगञ्ज शाखा (लिंक रोड, वडा नं. ८) क्षेत्रबाट २३ वर्षीय बिनित कुमार श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको छ। उनी वीरगञ्ज–३ आदर्श टोलका बासिन्दा हुन्।
तेस्रो घटना वीरगञ्ज–१६, रजतजयन्ती चोकमा घटेको हो। उक्त स्थानबाट बारा परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपक कुमार सोनार ३ लाख नगदसहित तथा ना। १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार अवस्थामा फेला परेका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी)किशोर लम्सालका अनुसार, तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
यस घटनाले पर्सा जिल्लामा हुण्डी कारोबार अझै व्यापक रूपमा क्रियाशील रहेको संकेत दिएको छ। प्रहरीले यस्तो गैरकानुनी गतिविधिमा निगरानी कडा बनाएको जनाएको छ।





Write your Comment