नारायणी अस्पतालमा गम्भीर लापरबाही : सर्जिकल ब्लेड बिरामीको शरीरमै छोडियो

रातोघर

 २०८२ अषाढ १८, बुधबार  मा प्रकाशित
३१६ पाठक संख्या


वीरगञ्ज । राजधानीबाहिरको प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने नारायणी अस्पतालमा फेरि एक पटक गम्भीर चिकित्सकीय लापरबाही भएको घटना सार्वजनिक भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते भएका १९ वर्षीय पप्पु पटेलको काँधमा उपचारका क्रममा सर्जिकल ब्लेड छोडिएको खुलेको छ।

वीरगञ्ज महानगरपालिका–२४, रमगढवाका पप्पु सोमबार राति करिब ९ बजे दुर्घटनामा परेपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका थिए। सडकमा छाडिएको फलामको रड काँधमा गाडिँदा गम्भीर घाइते भएका उनलाई तत्काल टाँका लगाइयो। तर अस्पतालमा ग्लोभ्स, गज, टेपजस्ता आधारभूत सामग्रीको समेत अभाव भएपछि उनका साथीहरूले आफ्नै मोबाइल फोन बन्धकी राखेर १५० रुपैयाँ जुटाउनुपरेको थियो।

घटनापछि प्राथमिक उपचार लिएर घर फर्किएका पप्पुलाई रातभरि असह्य पीडा भएपछि मङ्गलवार निजी एक्स–रे केन्द्रमा परीक्षण गराउँदा काँधभित्रै सर्जिकल ब्लेड फेला परेको हो। यस्तो गम्भीर लापरबाहीले बिरामीको जीवन नै जोखिममा पारेको भन्दै आम जनमानसमा आक्रोश फैलिएको छ।बिरामीका आफन्तले अस्पताल पुगेर जब ड्युटीमा रहेका चिकित्सकसँग ब्लेडबारे सोधपुछ गरे, तब जिम्मेवार चिकित्सकले “म हिजो थिएन, मलाई थाहा छैन” भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका थिए। आकस्मिक कक्ष प्रमुख डा। कृष्ण साहले राति डा। दीपक चौरसिया ड्युटीमा रहेको जानकारी दिए। तर डा। चौरसियाले घटनालाई सामान्यीकरण गर्दै ब्लेड घाइते स्थानबाटै भित्र पसेको हुनसक्छू भन्ने प्रतिक्रिया दिएका छन्।

उनको यस्तो कथनले चिकित्सकहरूको गैरजिम्मेवारीपन र संवेदनहीनता झल्काएको बिरामी पक्षको आरोप छ। अर्कोतर्फ पप्पुका आफन्तहरूले “यदि सर्जरी अस्पतालमै भएको हो भने ब्लेड शरीरभित्र रहनु कसरी सम्भव भयोरु” भन्दै प्रश्न उठाएका छन्।घटनाबारे सोध्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमान लान दासले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। तर उनले प्रारम्भिक अनुसन्धानपछि दोषी ठहरिनेहरूलाई कारबाही गरिने बताएका छन्।

पीडित पक्षले यथाशीघ्र छानबिन गर्दै दोषी चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेको छ। यो घटना सरकारी अस्पतालमा भइरहेका लापरबाही र बदइन्तजामीको एउटा ठोस उदाहरण बनेको छ।

 

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban