

बारा,सिमरा । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आत्मनिर्भर बनेका उद्यमशील नागरिकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गर्दै आएको “राष्ट्रिय पुरस्कार” यस वर्ष पनि वितरण गरिएको छ।
मंगलवार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमा मधेश प्रदेशको बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहा निवासी शंकर सिम्खडा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । वैदेशिक रोजगारीबाट फर्केपछि नेपालमैं बसेर आफ्नै लगानीमा उद्यम सञ्चालन गरी रोजगारी सिर्जना तथा आत्मनिर्भरताको उदाहरणीय कार्य गरेका सिम्खडालाई नगद रू ७५,००० र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा मन्त्री, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्रालयले देशका विभिन्न भागबाट छनौट गरिएका १० जना सफल उद्यमीहरूलाई सम्मान गरेको छ ।
शंकर सिम्खडा वैदेशिक रोजगारीमा लामो समय खाडी मुलुकमा बसेपछि नेपाल फर्किएर स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै कृषि तथा पशुपालनमा आधारित उद्यम सञ्चालन गर्दै आएका छन् । उनले केही वर्षयता आफ्नो ठाँउमा व्यवसाय गरी स्वरोगार भई मात्मानिर्भर हुदैं आएका छन् ।
सम्मानपछि प्रतिक्रिया दिँदै सिमखडाले भने, “देशमै केही गर्न सकिन्छ भन्ने सोच राखेर फर्किएको थिएँ । आज सरकारबाट यस्तो सम्मान पाउँदा झनै हौसला र जिम्मेवारी बढेको महसुस भएको छ । उनले वैदेशिक रोजगारी फर्केका नेपालीहरूलाई पनि स्वदेशमै उद्यम गर्न आग्रह गरे । उनीद्वारा प्राप्त यो पुरस्कारलाई बारावासी र मधेश प्रदेशको लागि गौरवको विषयका रूपमा हेरिएको छ । शंकर सिमखडालाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफलताको निरन्तर शुभकामना !





Write your Comment