उद्योग सार्नु पर्ने माग सहित जगदम्बा विष्फोट घटनामा नगरका पाँच दल एक ठाँउमा उभिए

रातोघर

 २०८२ अषाढ १९, बिहिबार  मा प्रकाशित
४९९ पाठक संख्या


बि.पी.भट्ट,सिमरा, बारा । जगदम्बा स्टिल्स लिमिटेड सिमरामा फेरि एक पटक भट्टी विष्फोटको घटना दोहोरिएको छ । बुधवार राति करिब ९ः१५ बजे जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित उक्त उद्योगभित्रको सि.सि.एम. प्लान्टमा अचानक भट्टी विष्फोट हुँदा एक मजदुर घाइते भएका छन्। उक्त घटनाप्रति विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का जीतपुरसिमरा नगर अध्यक्षहरूद्वारा जारी विज्ञप्तिमा घटनाप्रति चिन्ता व्यक्त गर्दै उद्योग व्यवस्थापनलाई कडा आलोचना गरिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, देशकै ठूलो औद्योगिक प्रतिष्ठानमध्ये एक मानिने जगदम्बा स्टिलमा यस्ता विष्फोटका घटना यसअघि पनि पटकपटक दोहोरिएका छन् ।

यस्ता घटनालाई रोक्न अघिल्लो समयमा विभिन्न तहबाट पहल भए पनि कम्पनी प्रशासनले गम्भीरता नदेखाएको गुनासो रहदैं आएको छ । यस्तो घटनाले उद्योग नजिक बसोबास गर्ने बस्तीका सर्वसाधारणको मानसिक स्वास्थ्यमा समेत प्रतिकुल असर परेको विज्ञप्तीमा भनिएको छ । उनीहरूले भनेका छन्, “विस्फोटका कारण स्थानियहरु बालबालिकादेखि वृद्धवृद्धासम्म त्रासमा बाँच्न बाध्य छन्।” दलहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उद्योग वरपरको जनस्वास्थ्य र वातावरणीय सुरक्षा सुनिश्चित गर्न उद्योग प्रशासनलाई तत्काल ठोस निर्णय लिएर आफ्नो कदम चाल्न आग्रह गरेको छ ।

साथै यस्तो जोखिमपूर्ण भट्टीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने र त्यसअघि पूर्ण रूपमा सञ्चालनमा रोक लगाइनुपर्ने माग समेत ५ नगरका दलले गरेका छन् ।
विज्ञप्तीमा नेपाली कांग्रेस जीतपुरसिमराका नगरसभापति छविलाल शर्मा, नेकपा एमाले जीतपुरसिमराका नगरअध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्र जीतपुरसिमराका नगरअध्यक्ष प्रेम वराल, राष्ट्रिय स्वतन्त्र पार्टी जीतपुरसिमराका नगरसभापति सुरेशराज के.सी. र लोसपा नेपाल जीतपुरसिमराका नगरअध्यक्ष सरोज पटेल विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले स्थानिय प्रशासन र स्थानीय सरकारसँग भट्टी सञ्चालनमा तत्काल रोक लगाउने माग गर्दै, नागरिकको ज्यान र सुरक्षाको विषयलाई प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban