

काठमाडौं ।
इँटाभट्टामा श्रम गरेर हुर्केकी, तर मेहेनत र लगनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए ल्याएकी गोमा श्रेष्ठको सपना अब डाक्टर बन्नेछ। उनका लागि त्यो सपना साकार पार्ने जिम्मा लिनुभएको छ भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले।
गुरुवार, गुरुङ र उनकी पत्नी सावित्री गुरुङले गोमालाई भाटभटेनीको कार्यालयमा सम्मान गर्दै कक्षा ११, १२ सँगै एमबीबीएससम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभयो। सम्मानस्वरूप गोमालाई एक लाख रुपैयाँ नगद र एउटा ल्यापटप पनि उपहार दिइएको छ।
बिहान–बेलुका इँटाभट्टामा काम गर्दै पढाइमा उत्कृष्टता हासिल गरेकी गोमाले डाक्टर बन्ने चाहना व्यक्त गरेकी थिइन्। उनले आफू कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएकी थिइन्। गोमाको संघर्ष र लक्ष्यले गुरुङ दम्पतीलाई भावुक बनाएको थियो, जसपछि उनीहरूले सहयोग गर्ने निर्णय लिएका हुन्।
समाजसेवी गुरुङ यसअघि पनि धेरै विपन्न विद्यार्थीलाई एमबीबीएस अध्ययनमा सघाउँदै आएका छन्। गोमाको कथा र गुरुङ दम्पतीको समर्थनले नेपाली समाजमा सकारात्मक ऊर्जा थपेको छ।





Write your Comment