सिमरामा भट्टी विस्फोटस् सांसद श्रेष्ठद्वारा उच्चस्तरीय छानबिनको माग

रातोघर

 २०८२ अषाढ २०, शुक्रबार  मा प्रकाशित
३२१ पाठक संख्या


बारा — सिमरा, बारा क्षेत्र नं। १ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ  ‘किसानुले’  सिमरास्थित जगदम्बा स्टिल्समा बुधबार राति भएको भट्टी विस्फोटले स्थानीयबासीमा थप त्रास सिर्जना गरेको भन्दै घटनाको उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सांसद श्रेष्ठले बिहीबार एक वक्तव्य जारी गर्दै विगतदेखि नै सिमराको वातावरणमा नकारात्मक असर पार्दै आएको सो उद्योगको पछिल्लो घटनाले जनस्वास्थ्यमा गम्भीर संकट थपिएको बताए। “मानव स्वास्थ्यसँग निरन्तर खेलबाड गर्दै आएको यो उद्योगभित्र फेरि यस्तो विस्फोट हुनु गम्भीर विषय हो,” उनले भने, “घटनाको सत्यतथ्य बाहिर ल्याउन गम्भीर र निष्पक्ष छानबिन हुनु आवश्यक छ।”

घटनाका बेला भट्टी विस्फोटले वरपरका बस्तीमा भूकम्पझैं कम्पन महसुस भएको थियो। घरहरू हल्लिन थालेपछि त्रसित भएका स्थानीयबासीले तत्कालै उद्योग घेरेर विरोध जनाएका थिए।

सांसद श्रेष्ठले विस्फोटको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न र पुनः भट्टी सञ्चालन गर्ने तयारी तत्काल रोक्न स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार यसअघि पनि सोही उद्योगमा यस्ता दुर्घटना दोहोरिएका छन्, तर प्रत्येकपटक उद्योग प्रशासनले क्षतिको विवरण लुकाउँदै भट्टी पुनः सञ्चालन गर्दै आएको छ। “बस्तीको बीचमा यस्तो जोखिमयुक्त उद्योग सञ्चालन गर्दा वातावरणीय सन्तुलन र जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ,” श्रेष्ठले भने।

सांसद श्रेष्ठले उद्योगलाई सघन बस्तीबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग नीति, कार्ययोजना र कानुनी प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban