

भोजपुर — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोदलेखानीमा एकै परिवारका चार जना सदस्यको विभत्स हत्या भएको छ। हत्या गर्ने व्यक्ति आफैँ मृतकहरूको ज्वाइँ भएको खुलेको छ।
भोजपुर नगरपालिका–२, हेलौंछाका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा पुगेर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी मनिषा गिरी र सालो सपन गिरीको छुरा प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार, आरोपीले शनिबार राति चारै जनालाई छुरा प्रहार गरी हत्या गरेका थिए। राति ११ बजेतिर हत्या गरेर उनले करिब १ बजे प्रहरी कन्ट्रोलमा फोन गरी आफूले चार जनाको हत्या गरेको स्वीकार गर्दै पक्राउ गर्न आग्रह गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै मृतकको शव फेला पारेको थियो। राजेन्द्रलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङमा घाइते अवस्थामा नियन्त्रणमा लिइएको हो। उनको पेटमा चोट लागेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा राजेन्द्रले परिवारका सदस्यहरूले आफूलाई मार्न खोजेपछि आत्मरक्षाका लागि हत्या गरेको दाबी गरेका छन्। उनका अनुसार, सबै जना सुतिरहेका बेला सासूले पेटमा छुरा प्रहार गरिन्, त्यसपछि मैले त्यही छुरा खोसेर सबैमाथि प्रहार गरेँ।
राजेन्द्र ससुराली गएको ६ दिन भएको थियो। प्रहरीका अनुसार, डेढ महिनाअघि मनिषालाई उनकी आमा मञ्जुले माइती लगेकी थिइन्। पारिवारिक विवादकै कारण घटना घटेको प्रहरीको प्रारम्भिक आकलन छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।





Write your Comment