

सिमरा । बजेटको बाँडफाँडलाई लिएर अल्झिएको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अन्ततः असार २५ गते दिउँसो १ बजे होटल क्लासिक सिमरामा हुने पक्का भएको छ । नगरपालिकाका जनप्रतिनिधिहरू बीच आपसी सहमतिमा बजेट बाँडफाँडको विषय टुंगोमा पुगेपछि नगरसभा हुने भएको हो । उपमहानगरपालिकाले १२ औं नगरसभाको सुचना समेत आफ्नो अफिसियल पेजमा प्रकाशन गरि सकेको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि उपमहानगरपालिकाले कुल २ सय करोड १ लाख रुपैंया बराबरको बजेट ल्याउने तयारी गरेको छ । उक्त बजेटमध्ये अनिवार्य दायित्व कटाएर बाँडफाँड योग्य बजेट ४२ करोड रुपैयाँ हुने जनाइएको छ । सिलिङ अनुसार मेयर राजन पौडेललाई १४ करोड, उपमेयर भोला प्रसाद अधिकारीलाई ६ करोड ६० लाख, २४ वटा वडाहरुलाई कूल २० करोड तथा ७ जना कार्यपालिका सदस्यलाई जनही २० लाखका दरले १ करोड ४० लाख रुपैयाँ बजेट बाँडफाँड गरिने भएको छ ।
यस पटक नगरप्रमुखले आफ्नो सिलिङ्ग रकमबाट प्रत्येक वडामा न्युनतम २५ लाख र उपप्रमुखले १० लाख बराबरको योजना समेट्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । अघिल्लो वर्षहरूमा भने नगरप्रमुख तथा उपप्रमुखले आफैंले चाहेको वडामा मात्र योजना राख्ने अभ्यास हुँदै आएको थियो । वडाहरूले प्राप्त गरेको २० करोड रुपैयाँको योजना निर्माण गर्दा ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजीगत खर्चमा विभाजन गर्नु पर्नेछ । त्यस्तै, वडाहरूले पाउने बजेटको सिलिङ्ग निर्धारण भूगोलका आधारमा २० प्रतिशत, जनसंख्याका आधारमा ३० प्रतिशत र वडाले गरेको आम्दानीको आधारमा ५० प्रतिशत रहनेछ
यसअघि ३० करोड मात्र बाँडफाँड योग्य बजेट आँकलन गरिएको हुँदा जनप्रतिनिधिहरूबीच सहमति जुट्न सकेको थिएन जसले गर्दा २ पटक नगरसभा स्थगित भएको थियो । तर पछिल्लो समय बजेटमा सुधार आएपछि बाँडफाँड योग्य रकम ४२ करोड पुगेको र त्यसै अनुसार समझदारी कायम गरेर नगरसभा आह्वान गरिएको उपप्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिएका छन्।
नगरसभा असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ । सोही दिन बिहान ८ बजे कार्यपालिका बैठक बोलाइनेछ । कार्यपालिकाबाट आएका प्रस्तावहरू छलफल गरी निर्णयपछि नगरसभामा प्रस्तुत गरिने वडा नं. २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले जानकारी दिए। यसअघि असार ९ गते १२ औं नगरसभाको पहिलो बैंठक सुरु भएको ४ मिनेटपछि स्थगित गरि असार १८ गतेलाई तोकिएको थियो । सहमती जुट्न नसकेपछि दोस्रो बैंठक समेत सुचना निकालेर स्थगित गरिएको थियो ।






Write your Comment