

जीतपुरसिमरा, बारा — जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
आन्तरिक आम्दानी ४७ करोड, बाँकी अनुदानमार्फत पूर्ति
उपमहानगरले ४७ करोड ४० लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेको छ। बाँकी रकम संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष तथा अन्य अनुदानमार्फत जुटाइनेछ।
वडास्तरमा ३० करोड विनियोजन
२४ वटै वडाका लागि न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। नगरस्तरको योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख छुट्याइएको छ।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता
गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ भने छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल सञ्चालनका लागि ९ करोड रुपैयाँ छुट्याइएको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्तासमेत समावेश गरिएको छ।
कृषिमा व्यवसायिकरण, पर्यटन र खेलकुदमा लगानी
कृषि योजनामार्फत प्रविधियुक्त अभ्यास, बीउ–बिजन, तालिम, अनुदान तथा सिँचाइ पूर्वाधारमा जोड दिइएको छ। खेलकुद पूर्वाधार विकास र अमलेखगञ्ज पर्यटन प्रवर्द्धनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
सामाजिक समावेशीकरण र पूर्वाधारमा ठोस योजना
पछाडि पारिएका समुदायहरूका लागि सीप विकास, स्वरोजगार तथा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। कुमारी आवास कार्यक्रमका लागि १ करोड छुट्याइएको छ। खानेपानी र सडक सुधार लगायतका पूर्वाधार योजनामा ७ करोड ५० लाख विनियोजन गरिएको छ।
वातावरण र विपद् व्यवस्थापनमा छुट्टै बजेट
वैकल्पिक ऊर्जा, वन संरक्षण र विपद् व्यवस्थापनका लागि छुट्टै कार्यक्रम अघि सारिएको छ। बायोग्यास, सुधारिएको चुलो वितरणजस्ता कार्यक्रमहरू समावेश छन्।
राजस्व सुधार र पारदर्शिता नीति
राजस्व वृद्धि गर्न व्यवसाय दर्ता अभियान, कर मिनाहा र प्रोत्साहन योजनाहरू अगाडि सारिएको छ। उपप्रमुख अधिकारीले बजेटको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य र पारदर्शिता आवश्यक भएको बताएका छन्।





Write your Comment