

सिमरा, पर्सा — पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई बन गस्ती टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सागढी–४ पसरामपुरका अब्दुला देवान र वीरगन्ज महानगरपालिका–३१ मिलनचोकका जोखुवा रहेका छन्। सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर भूपाल रोकायको नेतृत्वमा खटिएको गस्ती टोलीले साझेदारी वन क्षेत्रबाट सालको गोलिया साइकलमा बोकेर रतनपुरतर्फ लैजाँदै गरेका उनीहरूलाई पर्सागढी–४, भेडाहा टोल नजिकैबाट नियन्त्रणमा लिएको हो।
टोलीले उनीहरूको साथबाट चार थान सालको गोलिया काठ र तस्करीमा प्रयोग गरिएको साइकल बरामद गरेको छ। तर उनीहरूसँगै रहेका अन्य दुई जना भने गस्ती टोली देखेपछि फरार भएको जनाइएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, वीरगन्जमा बुझाइएको छ भने फरार तस्करहरूको खोजी कार्य जारी रहेको प्रहरी र वन कार्यालयले जनाएको छ।





Write your Comment