

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा अवस्थित साना किसान कृषि सहकारी संस्था सिमराले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छयोईलिङ्ग बौद्ध गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। संस्थाकी अध्यक्ष कमला अधिकारीको नेतृत्वमा सहकारी टोली गुम्बा पुगेर गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष फुलमाया लामालाई चामल, दाल, तेल, सोयाबिन, चिउरा, नुन, पिठो, आलु, प्याज, भुजा लगायतका आवश्यक खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष अधिकारीले गुम्बामा सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। उक्त आवासीय विद्यालयमा ६० जना अनाथ, असहाय र विपन्न बालबालिका शिक्षादीक्षा प्राप्त गरिरहेका छन्। उनीहरूको पालनपोषण, शिक्षा तथा संरक्षणको जिम्मेवारी गुम्बाले लिएको छ।
कार्यक्रममा गुम्बा व्यवस्थापन समितिकी सचिव आनी छोइङ डोल्माले सहकारी संस्थाको सहयोगले बालबालिकाहरूमा सकारात्मक ऊर्जा र प्रेरणा थपिएको बताउँदै यस्तो सहकार्यले समाजमा मानवता र सहयोग संस्कार विस्तार हुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा गुम्बा समितिका उपाध्यक्ष जंग बहादुर तमाङ, सहकारीका सचिव मिरा पुरी, कोषाध्यक्ष पुनम देवी महत्तो, सहजकर्ता कुलोत्तम पोख्रेललगायत कार्यसमिति सदस्य र कर्मचारीहरूको सहभागिता रहेको थियो।
सहकारी संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत कुनै न कुनै रचनात्मक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।





Write your Comment