

सिमरा — वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण (मेमोग्राम) र बाँझोपन उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप मन्त्री पौडेलले आयोजित कार्यक्रममा दुवै सेवाको शुभारम्भ गरेका हुन्।
महिलामा बढ्दो क्यान्सर जोखिमलाई ध्यानमा राख्दै मधेश प्रदेशका महिलालाई लक्षित गरी मेमोग्राम सेवा सुरु गरिएको हो। साथै निःसन्तान दम्पत्तीलक्षित बाँझोपन उपचार पनि अस्पतालमा उपलब्ध गराउन थालिएको छ।
मन्त्री पौडेलले नसर्ने रोगहरूबाट बच्न पूर्वसावधानीका उपायमा जोड दिँदै मधेश प्रदेशका महिलालाई सुपथ मूल्यमा समयमै स्वास्थ्य परीक्षण उपलब्ध गराउन व्यवस्था मिलाइएको जानकारी दिए। अस्पतालमा पहिले नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सेवा सञ्चालनमा रहेको छ भने क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्र स्थापना गर्न समेत व्यवस्था गरिएको भन्दै मन्त्री पौडेलले अन्य आवश्यक स्वास्थ्य सेवा विस्तारमा प्राथमिकता दिने बताए।





Write your Comment