

सिमरा । अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा देखाएको उल्लेखनीय भूमिकाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ।
धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार जबराले पछिल्ला महिना–महिनामा गम्भीर अपराधका घटनाहरूको अनुसन्धान र अपराधीको गिरफ्तारीमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरी संगठनको छवि उज्ज्वल बनाउन उल्लेखनीय योगदान दिएका छन्।
जबराको सक्रियतामा भएका प्रमुख उपलब्धिहरू:
1 . लक्ष्मिनिया गाउँपालिका–५ स्थित बनिनियाँमा गत चैत १७ गते श्रीमती अञ्जली यादवको हत्यापछि फरार रहेका अभियुक्त हरिराम यादवलाई नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका ।
2 . असार १८ गते जनकपुर –१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ ।
3 . ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र विद्युतीय अपराधमा फरार रहेका हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको।
एसपी रेग्मीले भने, “सागर शमशेरको उच्च व्यावसायिकता, जिम्मेवारीप्रतिको निष्ठा र निडरताले आम जनमानसमा प्रहरीप्रतिको भरोसा बढाएको छ। उनको कार्य समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको छ।”
धनुषा प्रहरीले जबराको उत्कृष्ट कार्यसम्पादनलाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गर्दै सम्मानित गरेको हो। यसरी प्रदान गरिने सम्मानले संगठनभित्रका दक्ष प्रहरीलाई थप प्रेरणा र हौसला प्रदान गर्ने विश्वास प्रहरी कार्यालयको रहेको छ।






Write your Comment