शारीरिक अपाङ्गता भएकी नवीनाले नागरिकता पाउँदा हजुरबुबाको अनुहारमा खुसीको चमक

रातोघर

 २०८२ श्रावण ७, बुधबार  मा प्रकाशित
१९३ पाठक संख्या


म्याग्दे गाउँपालिका–१  गुणादीकी २० वर्षीया नविना खनालले सोमबार नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । जन्मजात शारीरिक अपाङ्गता भएकी नवीनाले नागरिकता पाउँदाको क्षण उनका ७७ वर्षीय हजुरबुबा बासुदेव खनालको अनुहारमा उल्लास र सन्तोषको भाव झल्किएको थियो । मातृस्नेह नपाएका नवीनालाई हजुरबुबाले सानैदेखि पालनपोषण गर्दै आएका हुन् ।

वि.सं.  २०६२ माघ ११ गते जन्मिएकी नवीनाले २०६८ सालमा आमालाई गुमाएकी थिइन् । बुबाको परिचय नखुलेकी नवीनालाई म्याग्दे गाउँपालिकाले अपाङ्गता पुष्टि गरेर रातो कार्ड प्रदान गरिसकेको थियो । तर नागरिकता प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता लिनबाट वञ्चित हुँदै आएकी थिइन् ।प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी स्वयं सोमबार नवीनाको घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरे । जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण विवरण तयार गरी औँठाछाप लिन बाँकी रहेको प्रमाणपत्र घरमै पुर्‍याएर प्रदान गरिएको हो ।

प्रजिअ अधिकारीले भने, “शारीरिक अपाङ्गता भएकाले कार्यालय आउन गाह्रो थियो, त्यसैले हामी आफैँ उहाँको घर पुगेर नागरिकता उपलब्ध गरायौँ । यस्तो कदमले नागरिकमा सरकारप्रतिको विश्वास र भरोसा बढ्नेछ ।”सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्ले र अन्य स्थानीय प्रतिनिधिको पनि उपस्थिति थियो ।

वडाध्यक्ष वाग्लेले भने, “नवीनालाई नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट वञ्चित रहनुपरेको थियो । सबैको पहल र सहकार्यबाट अन्ततः घरमै पुगेर प्रमाणपत्र दिन सक्यौँ, जुन सकारात्मक उपलब्धि हो ।”

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban