

मकवानपुर, साउन ७ — मकवानपुरको कुलेखानीस्थित सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पु¥याएको क्षेत्रको पुनःस्थापनाका लागि ड्याममुनिको सिमखोलामा बेलिब्रिज राख्ने कार्य अघि बढाइएको हो।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख इन्जिनियर नवीन कुमार सिंहका अनुसार बेलिब्रिज जडानको कार्य गत साताबाट सुरु भएको हो। उनका अनुसार दक्ष जनशक्ति र आवश्यक उपकरणको प्रयोगसहित काम तीव्र गतिमा भइरहेको छ।
सिंहका अनुसार सिमखोलामा ५७ मिटर लामो बेलिब्रिज जडान गर्न लागिएको हो। उक्त पुल निर्माणका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर सिमखोलामा ल्याइएको जानकारी दिए।
निर्देशनालयका अनुसार हालसम्म पुल निर्माणको करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। साउन १५ गतेभित्र सवारी आवागमन सुरु गराउने लक्ष्यसहित काम भइरहेको छ। निर्माण व्यवसायीले पनि तोकिएको मितिभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
पुल जडानसँगै पक्की पहुँच मार्ग तथा क्षतिग्रस्त सडक संरचना पुनःनिर्माणको जिम्मा पाएको गौरव इन्जिनियर्स प्रालिले एक करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको हो। कम्पनीले गत वैशाखदेखि काम सुरु गरेको र हालसम्म बेस निर्माण, बाँधसहितको मेसिनरी वाल, प्लम्प वाल लगायतका संरचना निर्माण कार्य सम्पन्न गरिसकेको छ।
ड्याम क्षेत्रमा भारी वर्षा हुँदा ‘ओभरफलो’ रोक्न गेट खोलिएको थियो, जसका कारण इन्द्रसरोवर गाउँपालिका–२ स्थित ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुल र आसपासको सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। पुल अवरुद्ध भएपछि काठमाडौँ–हेटौंडा सडक सञ्चालनका लागि अस्थायी रूपमा खोलाबाट डाइभर्सन गरेर सवारी आवागमन गरिएको छ।





Write your Comment