

काठमाडौँ, । नेपाल सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
कृषि मन्त्री रामनाथ अधिकारीका अनुसार पर्याप्त वर्षा नहँुदा मधेस प्रदेशका आठै जिल्लामा खडेरीको असर बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण पर्सा, बारा लगायतका जिल्लामा खानेपानीको गम्भीर समस्या देखिएको छ।मधेस प्रदेश सरकारले असार २६ गते नै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको थियो।
त्यसपछि दमकल र ट्याङ्करमार्फत पानी वितरण अभियान सञ्चालन गरिएको थियो।प्रदेशमा कुल ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती गरिँदै आएको छ। तर हालसम्म केवल १ लाख ७४ हजार ५०८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।
धान रोपाइँको अवस्था :
पर्सा : ७९.६६%
बारा :७५%
रौतहट : ६५%
सर्लाही : ४३%
धनुषा :३५%
सिराहा :३४%
सप्तरी र महोत्तरी : ३०%
खेतमा रोपाइँ भएको क्षेत्रमा पनि वर्षा नहुँदा जमिन चिरा परेर समस्या बढेको निर्देशनालयको भनाइ छ।





Write your Comment