प्रधानमन्त्री ओली आज बारा आउँदै, शुभ विहानी सँग फेसबुकमा लेखे यस्तो कुरा

रातोघर

 २०८२ श्रावण ९, शुक्रबार  मा प्रकाशित
३९३ पाठक संख्या


सिमरा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बाराको परिवानीपुर आउँदै छन् । प्रधानमन्त्री ओली महोत्तरी जिल्ला हुदैं बारा आउने कार्यक्रम रहेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत शुभ बिहानीको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तराई–मधेश क्षेत्रमा फैलिएको सुख्खाका कारण धान रोपाइँ समेत हुन नसकेको उल्लेख गरेका छन् । उनले आफू थकित भएको र हिजो कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको जनाउँदै, आज बारा–महोत्तरी जाँदै गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि सतप्रतिशत धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ।” उनले बारा र महोत्तरीका दिदीबहिनी तथा दाजुभाइहरूसँग भेटघाटको कार्यक्रम तय भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न भएको नयाँ प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको परवानीपुर गाउँपालिकाले जनाएको छ।

यसअघि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशमा फैलिएको भीषण सुख्खाका कारण त्यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सोही सन्दर्भमा प्रधानमन्त्री ओलीले बारा–महोत्तरी क्षेत्रको स्थलगत अवलोकन र किसानहरूसँग प्रत्यक्ष संवादका लागि भ्रमण गर्न लागेका हुन् ।

सिचाइको अभाव, लगातारको वर्षा अभावले बाली सुक्न थालेको, खानेपानीका मुहान तथा धाराहरू समेत सुक्दै गएका अवस्था झल्काउँदै प्रधानमन्त्री ओलीले स्थानीय जनताको पीडा बुझ्ने र समाधानको बाटो खोज्ने आशय व्यक्त गरेका छन् । उनको भ्रमणले तराई–मधेशका पीडित कृषकहरूलाई राहत, आश्वासन र समाधानको बाटो प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban