

सिमरा । बारा सिमराका राम प्रसाद अधिकारी अमेरिकाको टेक्सास राज्यमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अन्तर्गत टेक्सास च्याप्टरको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । यही जुलाई २७/२८ मा हुन गइरहेको एनआरएनए एनसीसी (NRNA NCC) अमेरिका निर्वाचनअन्तर्गत टेक्सास च्याप्टरको निर्वाचन प्रक्रियामा अधिकारीले उपाध्यक्ष पदमा प्रतिस्पर्धा नगरी सबैको समर्थनमा सर्वसम्वत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा निर्वाचित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अधिकारीले आफुलाई समर्थन, सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले लेखेका छन्, “मलाई टेक्सास च्याप्टरको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गराउन सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु।”
उनले एनआरएन टेक्सास च्याप्टरको अध्यक्ष पदका उम्मेदवारहरू प्रति समेत सम्मान व्यक्त गर्दै जुन उम्मेदवार अध्यक्ष पदमा निर्वाचित हुनेछन्, उनीप्रति पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्। अधिकारीले लेखेका छन् ।
“अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका तीन जनामध्ये जो कोही तपाईंहरूकै अमूल्य मतबाट निर्वाचित हुनुहुन्छ, उहाँलाई सहज रूपमा अध्यक्षको रूपमा स्वीकार गरेर टेक्सास च्याप्टरलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धताका साथ म सधैं क्रियाशील रहनेछु।”
गैरआवासीय नेपाली समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका अधिकारी सामाजिक उत्तरदायित्व र संस्थागत विकासमा समेत अग्रसर रहदै आएका छन् ।





Write your Comment