उपमेयर अधिकारीले कैंची चलाउँदा मेयर पौडेलले चलाए साइकल

रातोघर

 २०८२ श्रावण १०, शनिबार  मा प्रकाशित
५५६ पाठक संख्या


रातोघर न्युजडेस्क । सिमराबाट बारा कोरा २०२५ साइक्लिङ्ग च्यालेन्ज कार्यक्रम शनिवारबाट औपचारिक रूपमा सुरु भएको छ । बारा राइडर संघ, सिमरा बारा आयोजक रहेको उक्त कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको उपप्रमुख भोला प्रसाद अधिकारीले रिबन काटेका थिए भने नगरप्रमुख (मेयर) राजन पौडेलले साइकल चलाएर बारा कोरा २०२५ साइक्लिङ्ग च्यालेन्ज यात्राको सुरु गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले यस्तो किसिमका आयोजनाले उपमहानगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अवसरमा बि.स.२०५४ सालमा साइकल मार्फत मेचि–महाकाली यात्रा गरेका सिमरा निवासी शिक्षक रामप्रसाद अधिकारी र मकवानपुरका पुर्व शिक्षक समेत रहेका लक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । श्रेष्ठले २०५४ मा पहिलोपटक र २०८० सालमा दोस्रोपटक मेचिमहाकाली साइक्लिङ्ग यात्रा सम्पन्न गरेका थिए।

साइक्लिङ्ग च्यालेन्जमा ६/७ वर्षका बालबालिकादेखि ६०/७० वर्ष उमेर पार गरेका वरिष्ठ नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रममा हजुरबुवा,छोरा र नातीसम्मको एकै परिवारका ३ पुस्ताले सहभागिता जनाएको छ । डुमरवानाका आनन्दी चौधरी,उनका छोरा र नाती समेतले कार्यक्रममा भाग लिएका छन् ।

सिमराबाट सुरु भएको यात्राले सिमरा रामबन, पर्सा राष्ट्रिय निकुञ्जको भित्री जंगल हुँदै अमलेखगञ्ज सम्मको दूरी तय गर्नेछ । अमलेखगञ्ज पुगेपछि सहभागी टोलीले बाराको एकमात्र ह्याइकिङ गन्तव्य सिद्धबाबा मन्दिरको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । साइक्लिङ्ग च्यालेन्जमा बाराको निजगढ, जीतपुरसिमरा उपमहानगरपालिका, साथै छिमेकी जिल्लाहरू पर्सा र मकवानपुरबाट गरी करिब १७० जना सहभागिता जाएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमले स्वास्थ्य, खेलकुद, पर्यटन र स्थानीय पहिचान प्रवद्र्धनमा सकारात्मक सन्देश दिने विश्वास लिइएको छ । बारा राइडर संघका अध्यक्ष शेषराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षक राम अधिकारीले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban