

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्म विपरीत स्रोतको वितरण भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।आइतबार संसदको अर्थ समितिमा बोल्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई नै संघीय अभ्यासको बाधक भएको टिप्पणी गरे।
“वित्त आयोग सरकारका लागि घाँडोजस्तो बनेको छ,” उनले भने, “शासकहरूको एकात्मक र केन्द्रीकृत मानसिकताका कारण संघीयता कार्यान्वयनमा अवरोध भएको छ।”उनका अनुसार विकासको आधार आर्थिक स्रोतको पहुँच हो, तर स्रोत वितरणमा चरम असमानता रहेको छ।“जहाँ स्रोत पुग्दैन, त्यहाँ विकास हुन सक्दैन,” यादवले भने, “नेपालमा तल्लो तहसम्म ५ प्रतिशतभन्दा कम स्रोत पुग्ने गरेको तथ्य आफैमा गलत छ।”
उनले स्रोत वितरणमा मानवीय विकास सूचकांक र जनसंख्या मुख्य आधार हुनुपर्ने धारणा राखे।
“जहाँ विकास सूचकांक कमजोर छ, त्यहाँ बढी लगानी गर्नुपर्छ,” उनले भने, “६० प्रतिशत जनसंख्या रहेको तराई–मधेस क्षेत्रमा विकास बजेटको मात्र ११ प्रतिशत पुग्नु गम्भीर विभेद हो।”
यादवले स्रोतको अन्यायपूर्ण वितरणले तराई क्षेत्रमा सुक्खापन बढेको, भूमिगत पानीको सतह ४०० फिटसम्म तल झरेको जस्ता गम्भीर पर्यावरणीय समस्या निम्तिएको बताए।उनले वर्तमान प्रदेश संरचना र अधिकारलाई पञ्चायतकालीन जिल्ला पञ्चायतभन्दा पनि कमजोर बनाइएको आरोप समेत लगाए।
“संघीयता बाध्यतावश गरिएको हो भन्ने मानसिकता अझै हटेको छैन,” अध्यक्ष यादवले भने।





Write your Comment